
पोखरा स्पोर्टस । पोखरा रंगशालामा एकै पटक शनिबारका दिन तिन ठूला वृहत प्रतियोगिताहरु सञ्चालन हुने भएका छन् ।
ति प्रतियोगिताहरुलाई सहज रुपमा सञ्चालन गर्न प्रदेश खेलकुद परिषद गण्डकीले सहज वातावरणमा सञ्चालन गर्न प्रदेश खेलकुद परिषदले आह्वान गरेको छ ।
शनिबार पोखरा रंगशालामा रेसिङ स्पोर्टसको फाइनल खेल सञ्चालन हुने छ भने यस संगै अन्तर्राष्ट्रियस्तरको आइटिएफ यू–१८ जे३० जुनियर टेनिस प्रतियोगितको क्वालिफाइङ राउण्डका खेलहरु सुरु हुनेछन । त्यसै गरि केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत दुई खेलहरु सम्पन्न हुनेछन् ।
ति सबै खेलहरु दर्शक एवं खेलाडीहरुलाई सहज वातावरणमा सम्पन्न गर्न परिषदले आह्वान गरेको हो । “सबै खेलहरु हाम्रो लागि समान हुन् । सवै खेलहरु उत्तिकै महत्वपूर्ण छन् । हामी सबै खेलहरु भव्य रुपमा सञ्चालन होस भन्ने चाहन्छौं ।”–परिषदले भनेको छ ।
ति खेलहरु सञ्चालनका लागि टेनिस र क्रिकेटका लागि पोखरा रंगशालाको दक्षिणतर्फको गेट नं ५ र ६ र रेसिङ स्पोर्टसका लागि गेट नं १ बाट खेलाडी र दर्शकहरुलाई प्रवेशका लागि खुला गरिने परिषदले जनाएको छ ।
कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडी तथा दर्शक प्रवेशका लागि गेट नं ६ खुला गरेमा आफूहरुलाई थप सहज हुने बताए । उनले भने–“मोटर साइकलको आवाजले केही डिस्टर्व गर्छ कि भन्ने हो । तर सबै खेलका लागि सहज वातावरण बनाइनु राम्रो हुन्छ ।”
परिषदले तिन वटै खेल संघहरुलाई सहकार्य गरि अघि बढ्न र खेलाडीहरुलाई समेत सूचना प्रवाह गर्न भनेको छ ।
