ओलम्पियन गुरुङले वितरण गरे कास्कीका चार विद्यालयमा छात्रवृत्ति

पोखरा स्पोर्टस । ओलम्पियन नारायण गुरुङले कास्कीका विभिन्न चार विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन् ।

नेप्लिज एशोसियसन अफ ओरिगन, अमेरिकाका अध्यक्ष समेत रहेका ओलम्पिन गुरुङले शनिबार कास्कीका चार विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका हुन् । एशोसियसनबाट प्राप्त नगद रु ५४ हजार सहयोग वितरण गरिएको निवृत शिक्षक समुदाय पोखरा २५ हेमजाका सचिव हरिप्रसाद पौडेलले जानकारी दिए ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यालयहरुमा माछापुच्छ्रे मावि भुर्जुङ खोला, सिलतालेवी मावि, पोखरा, इन्द्रराज्यलक्ष्मी मावि लामाचौर पोखरा, शिद्ध बराह मावि हर्पनका चार जना विद्यार्थीहरु रहेका छन् । माछापुच्छ्रे मावि भुर्जुङ खोलामा आयोजित कार्यक्रममा सो विद्यालयका सनिष्का गुरुङ, सिलतालेवी माविका सम्राट गुरुङ, इन्द्रराज्यलक्ष्मी माविकी छात्रा अदिती पौडेल र शिद्ध बराह मावि हर्पनकी सभ्यता केसी रहेका छन् । चान जना विद्यार्थीहरुलाई जनही नगद १३ हजार ५ सयका दरले छात्रवृत्ति वितरण गरेको ओलम्पियन गुरुङले जनाए ।

एशोसियनले हरेक वर्ष नेपालमा १५ जिल्लामा छात्रवृत्ति वितरण गर्दै आइरहेको र करिव ३१ सय अमेरिकी डलर करिव रु ४ लाख हरेक वर्ष वितरण गरिरहेको ओलम्पियन गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“हामी विदेशमा बसेर नेपाली विद्यार्थीहरुलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त होस भन्नका लागि यो छात्रवृत्ति वितरण गर्दै आइरहेका छौं । यो अभियानलाई हामीले जारी राख्ने संगै गरिव तथा जेहेन्दार विद्यार्थीहरु यो अभियानमा कोही पनि नछुटुन भन्ने ध्येय हो ।”

माछापुच्छ्रे मावि भुर्जुङ खोलामा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा ओलम्पियन नारायण गुरुङले शिक्षा संगै विद्यार्थीहरुलाई खेलकुदमा समेत सक्रियतापूर्वक सहभागिता जनाउन आग्रह गरे । उनले सो अवसरमा विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामाग्री समेत वितरण गरे ।

सो कार्यक्रम विद्यालयका प्रअ सन्तोष आचार्यको अध्यक्षतामा भएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close