सृजना कप भलिबल : छात्र/छात्रा दुबैतर्फ शान्ता माविलाई उपाधि

पोखरा स्पोर्टस । तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद ७०/७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शुक्रबार दिउँसो भएको फाइनल खेलमा छात्रतर्फ शान्ता माविले कालिका माविलाई २५–१८, १६–२५, २५–२१ र २५–१९ गरेर ३-१ को सेटले हरायो । छात्रातर्फको फाइनल खेलमा शान्ता माविले अमरसिंह माविलाई २५–२१, २५–११, २१–२५ र २७–२५ गरेर ३-१ को सेटमा पराजित गरेको छ । उपबिजेता बनेको छात्रतर्फको कालिका मावि र छात्रातर्फको अमरसिंह माविले नगद ३५/३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह मावि घान्द्रुक र छात्रातर्फ जनप्रिय मावि तेश्रो भए । तेश्रो स्थानका लागि शुक्रबार भएको खेलमा छात्रतर्फ मेश्रम वराह मावि घान्द्रुकले वाराही मावि मालेपाटन पोखरालाई ३–१ तथा छात्रातर्फ जनप्रिय मावि सिमलचौर पोखराले छोरेपाटन मावि पोखरालाई ३–१ को सेटमै पराजित गरे । तेश्रो स्थान प्राप्त गर्ने दुबै टिमले नगद २०/२० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ शान्ता माविका जीवन सुनार र सुभा राई सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै छात्रतर्फ स्पाइकरमा कालिका माविका मिलन विक, सेटरमा शान्ता माविका विवेक सुनार, ब्लकरमा शान्ता माविकै पुस्कर ठगुन्ना र डिफेन्डरमा मेश्रम वराह माविका निरज धमाल उत्कृष्ट घोषित भए । छात्रातर्फ स्पाइकरमा अमरसिंह माविकी गंगा गुरुङ, सेटरमा शान्ता माविकी पूर्णिमा राई, डिफेन्डरमा शान्ता माविकी गंगा गुरुङ र सर्भरमा जनप्रिय माविकी विपना पुन घोषित भए । उत्कृष्ट सवैलाई १/१ थान भलिबल प्रदान गरिएको थियो ।

प्रतियोगिताका बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङ, सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।
Aha Rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close