
पोखरा स्पोर्ट्स । पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य र महानायक राजेश हमालको टिम एक भलिबल प्रतियोगितामा भिड्ने भएका छन् ।
एभरेष्ट महिला भलिबल लिगको आयोजक इन्फिनिटी ड्रिम्स प्रालिद्वारा आयोजित प्रदर्शनी खेलमा प्रमुख आचार्य र महानायकको टिम भिड्ने भएका हुन् । लिगको दोस्रो संस्करणको पूर्व सन्ध्यामा पोखराको लेकसाइड हलन्चोकमा यहि भदौ १९ गते ति दुई टिम भिड्ने तयारी रहेको आयोजकले जनाएको छ ।
अभिनेता राजेश हमाल र प्रमुख आचार्यले टिमले नेतृत्व गर्ने खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुने प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाँईले जनाएकी छन् ।
प्रत्येक टिममा १२ खेलाडी रहनेछन् । जसमा फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखराका स्थानीय इन्फ्लुएन्सरहरूका साथै पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् ।
यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावरको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिने जनाइएको छ ।
सो प्रदर्शनी खेलमा सहभागी कलाकारहरूमा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारी, साथै टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन् ।
एभरेष्ट महिला भलिबल लिग भदौ २०–२८ मा पोखराको बहुउद्देशीय कभर्ड हलमा आयोजना हुने छ । यो एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो । जसमा ६ प्रतिस्पर्धी टिमहरू र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागि हुनेछन् । यसले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्म प्रस्तुत गर्ने दावी गरिएको छ ।
यो प्रदर्शनी खेलले एभरेष्ट भलिबल लिगको माहोल तयार गर्न र महिला भलिबलको बढ्दो लोकप्रियतालाई उत्सव स्वरूप प्रस्तुत गरी पोखरालाई खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने उल्लेख छ ।

