पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको हव बनाउने हो भने रंगशाला पहिलो प्राथमिकता– अध्यक्ष चन्द

पोखरामा क्रिकेट अम्पायरहरुको रिफ्रेशर प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको हव बनाउन पहिलो प्राथमिकता अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउनु पर्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा आयोजित दुई दिने रिफ्रेशर प्रशिक्षणको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय नेपाली क्रिकेटमा प्राप्त सफलताले विश्वमा नै चर्चा बटुलेको र हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको बताउँदै अध्यक्ष चन्दले सन २०२७ मा नेपाल र वंगालादेशको संयूक्त आयोजनामा हुने प्रतियोगिता मध्येका खेलहरु पोखरा र काठमाण्डौंमा गर्न क्यान तयार रहे पनि पूर्वाधारको कारण पोखरा सम्भाव नहुने बताए । क्रिकेटका लागि अन्य प्रदेश वा जिल्ला भन्दा उत्कृष्ट भेन्यु रहेको बताउँदै उनले भने–“हामी पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेन्यू बनाउन चाहन्छौं । तर खेलाडीका लागि हुने ‘वेसिक’ सुविधा नभए सम्म त्यो सम्भव छैन ।”

मौसम र शुरक्षाको हिसाबले पोखरा अन्य प्रदेश भन्दा उपयूक्त भेन्यूको रुपमा रहे पनि अबको दुई वर्ष भित्र सबै पूर्वाधार तयार गर्न सके पोखरा विश्व कप क्रिकेटको आयोजना स्थल हुन सक्नेतर्फ इङ्गित गर्दै अध्यक्ष चन्दले प्रश्न गर्दै भने–“कसले बनाउने ? संघिय सरकारले वा प्रदेश सरकारले ? वा राखेपले त्यो प्रष्ट हुन आवश्यक छ । जसका कारण पोखराले त्यो अवसर प्राप्त गर्न सकोस । क्यान सहयोग गर्न तयार छ ।” अन्तर्राष्ट्रिय आयोजनाका लागि होटल वा आवाशको सुविधामात्रै नभएर खेल मैदान र खेलाडी संग जोडिएका महत्वपूर्ण विषयहरु रहेको उल्लेख गर्दै उनले प्रेक्टिस भेन्यु, पेभिलियन, चेन्जिङ रुम, प्याराफिटलगायत आधारभुत कुराहरु आवश्यक हुने औंल्याए ।

पछिल्लो समय नेपाली यूवाहरुमा क्रिकेटको क्रेज बढ्दै गएको बताउँदै अध्यक्ष चन्दले अवको पाँच वर्ष भित्र नेपालमा पाँच ठूला अन्तर्राष्ट्रियस्तरका पूर्वाधारहरु बन्ने दावी समेत गरे । उनले भने–“राजनितिक दल होस वा सांसद वा सरकार चौतर्फीरुपमा यूवाहरुको दबाव बढेको छ । क्रिकेटमा लगानी गर्नुपर्छ भन्ने आवाजले पनि अब नेपालमा पूर्वाधार निर्माणको विषयमा कसैले रोक्न सक्दैन ।” अहिले जति पनि निर्माण भएका छन् ति सवै निर्माण कार्य कछुवाको गतिमा भइरहेको बताउँदै उनले मैदान बाहिर निर्माणको विषय कसले जिम्मा लिने भन्ने बारे समेत प्रस्ट हुन आवश्यक रहेको औंल्याए । 

नेपाली क्रिकेट खेलाडी संगै नेपाली अम्पायरहरुलाई समेत अवसर प्रदान गर्न क्यान तयार रहेको जनाउँदै अध्यक्ष चन्दले नेपालमा नै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने तर्फ क्यानले सोच बनाएको बताए । नेपालको क्रिकेट विकासका लागि नेपाली अम्पायरहरुको समेत महत्वपूर्ण योगदान हुने विषयमा चर्चा गर्दै उनले नेपालमा हुने प्रतियोगितामा नेपाली खेलाडीहरुको उच्च प्रदर्शन र जितको प्रतिशत उच्च रहेको जनाए । नेपालमा हुने प्रतियोगितामा खेलाडी संगै नेपाली अम्पायरहरुले समेत संग–संगै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने भएकोले पनि क्यानले धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जोड दिएको उल्लेख गरे ।

क्यानले नेपाली क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण निर्णयहरु गरेको बताउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेश क्रिकेट संघहरुलाई बलियो बनाउन समेत क्यानले दिने बजेटमा सकरात्मक प्रक्रियाहरु अघि बढाएको बताए । नेपाली क्रिकेट खेलको विकासमा खेलाडीको मात्रै हात रहेको गलत चर्चा हुने गरेको तर्फ इङ्गित गर्दैै यो सफलता सबैको साझा प्रयासबाट भएको उल्लेख गरे ।

कुसानका अध्यक्ष सत्यजित सरकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले समेत आफ्ना भनाई राखेका थिए ।

प्रशिक्षणमा नेपाल भरका ६५ जना अम्पायरहरुको सहभागिता रहेको छ । उनीहरुलाई प्रशिक्षकद्वय समिर खान र विनय कुमार झाले प्रशिक्षण दिने छन् भने नेपाली सिनियर आइसिसी अम्पायर सञ्जय गुरुङ, राम कैलाश यादव र दुर्गानाथ सुवेदी ‘गेष्ट’ प्रशिक्षकको रुपमा रहेका छन् । त्यसै गरी अनलाईन स्कोररतर्फ सुरज रत्न शाक्य र दिवश थापाले प्रशिक्षण दिने आयोजक कुसानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close