
पोखरा स्पोर्ट्स । विशेष काम बाहेक सँधै बन्द हुने पोखरा रंगशालाको गेट नं ६ खुला गरिएको छ ।
पोखरा रंगशालाको मुख्य गेट नजिक रहेको सेती नदीको पुल निर्माणको क्रममा रहेकोले जिल्ला खेलकुद विकास समिति कास्कीले गेट नं ६ खुला गरेको समितिका अध्यक्ष मिलन गुरूङले जनाएका छन् ।
पोखरा स्पोर्ट्ससँग कुरा गर्दै अध्यक्ष गुरूङले पुल निर्माणका कारण दुर्घटनाको जोखिम तथा यातायतको चापका करण पोखरा रंगशाला प्रवेशका लागि समेत समस्या भए पछि गेट नं ६ खुला गरिएको बताए । उनले भने–“अहिले उत्तरतर्फको मुख्य गेटको सडक खण्ड र पुल निर्माणको चरणमा छ । अत्याधिक चाप पनि छ । दुर्घटनाको जोखिम समेत बढेकोले हामीले दक्षिणतर्फको गेट नं ६ खुलेका हौं ।”
पोखरा रंगशालाको पर्खाल निर्माणको क्रममा तमु धिं एशोसियसन युकेको सहयोगमा निर्माण भएको गेट नं ६ खुला गरिए पछि रंगशाला प्रवेश गर्ने खेलाडी र सबैका लागि सहज हुने समितिले विश्वास गरेको छ ।
सो गेटमा समेत सुरक्षाका लागि एक जना गार्ड व्यवस्थापन गरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।
