
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनमा निधन भएको छ ।
उनी मंगलबार राती अन्दाजी ११ बजे दुर्घटनामा परेर निधन भएको प्रदेश भलिबलका कोषाध्यक्ष जिवन भण्डारीले जानकारी दिएका छन् । सन्तोष वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागि भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किरहेको अवस्थामा अचानक मोटरसाइकल दुर्घटनामा परेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनी चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका थिए ।
भलिबलका ओपन स्पाइकर २२ वर्षिय थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा निरन्तर सहभागि थिए ।
उनले करिव एक वर्ष शसस्त्र प्रहरीको एपिएफ क्लवबाट समेत खेलेका थिए । “उनी सम्भावना भएका खेलाडी थिए । हामीले गण्डकीको एक उत्कृष्ट खेलाडी गुमाउन पुग्यौं,” कोषाध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई भने–“उनको निधनले एक युवा खेलाडीको स्थानको अभाव खटकिने छ ।”
करिव ६/७ महिना अघि मात्रै बिबाह बन्धनमा बाँधिएका सन्तोषको श्रीमती, बुवा आमा छन् ।
यसै बिच प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल भलिबल संघका सचिव श्रीधर शर्माले सन्तोषको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्–“उनको असमायिक नधिन प्रति म भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । साथै उनको परिवारमा समवेदना प्रकट गर्दछु । एक यूवा भलिबल खेलाडीको निधनले गण्डकी प्रदेशको भलिबलका लागि अपुरणिय क्षती पुगेको छ ।”
