
पोखरा स्पोर्टस । खेलकुद क्षेत्रमा देखिएको राजनितिक दाउपेचको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न र दशौं राष्ट्रिय खेलकुदमा ध्यान केन्द्रित गर्न खेलकुदकर्मीले सुझाव दिएका छन् । उनीहरुले खेलाडीहरुलाई प्रशिक्षणस्थलका लागि समेत समेत नभएको अवस्थामा अन्य कुरामा ध्यान मोड्न खोजिएको भन्दै असुन्तुष्टि समेत व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्तर्गत गण्डकी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको जिम्मेवारी पाएका संयोजनको जिम्मेवारी पाएका राखेप सदस्य राजेश कुमार गुरुङको पहलमा आयोजित विभिन्न खेल संघ तथा खेलकुद संवद्ध संघ संस्थाका पदाधिकारीहरु बिच सम्पन्न छलफल कार्यक्रममा सहभागि खेलकुदकर्मीहरुले उक्त सुझाव दिएका हुन् ।
खेलकुद जस्तो क्षेत्रमा अख्तियारमा उजुरी पर्नु, खेलकुदका पूर्वाधार निर्माण कम हुनु, भएका पूर्वाधारको उचित संरक्षण नहुनु, खेलाडी उत्पादनको लागि आवश्यक प्रशिक्षक र प्रशिक्षणको अभाव हुनु, एक खेल संघले अर्को खेलको अपनत्व नगर्नु, पोखरा रंगशालामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका गतिविधिमा अवलोकन गर्न चाहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उचित प्रबन्ध गर्न नसक्नु, रंगशालमा प्राप्त भएको आम्दानीको पारदर्शी नहुनु लगायतका समस्या रहेको सहभागिहरुले बताए । तीनै तहका खेलकुदका निकाय राखेप, प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिको स्पष्ट कार्ययोजना र कार्यक्षेत्र निर्धारण गर्दै समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्न सक्नुपर्नेमा खेलकुदकर्मीले सुझाव समेत दिए ।
तिन साताका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन राखेपबाट समय पाएका राखेप सदस्य राजेश गुरुङलाई खेलकुदमा रहेको वेतिथीहरुको अन्त्य गर्दै खेलकुदको विकास गरी दशौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुने गरी प्रदेशको आन्तरिक तयारीमा जुट्न आग्रह गरिएको समितिका एक सदस्य एवं साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका (नासु) डम्बर बहादुर (डिबी) नेपालीले बताए । साथै सहभागीहरुले खेलकुदमा रहेको वेतिथीलाई व्यबस्थापन गर्न नसके खेलकुदको पदीय दायित्वमा रहेका राखेप सदस्य गुरुङ सहितका व्यक्तिहरुलाई राजिनामा दिन चेतावनी समेत दिएको उनले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आफुहरुले यस क्षेत्रमा खेलकुदको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण गरी त्यसको छ्ट्टिै नै परिणाममुखी प्रतिवेदन पेश गर्ने तयारीमा रहेको संयोजक गुरुङले जनाए । खेलकुदको विकासको लागि सबैलाई मिलाएर अघि बढ्ने उनले जनाए । तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसीले खेलकुदको विकास गर्न व्यवसायी सहितको खेलकुदकर्मीको टिम गठन गर्न माग गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद ऐन बाझिएकोले खेलकुदमा समस्या उत्पन्न भएको बताए । उनले भने–“अहिले सबैको ध्यान पोखरा रंगशालातर्फ छ । यो रंगशालाको संरक्षणको अभिभारा जिल्ला खेलकुद अन्तर्गत छ । तर सबैले आ–आफ्नो अस्तित्व खोज्नु त हो । तर अस्तित्व खोज्दा खेलाडी मर्कामा परेका छन् । अख्तियारमा उजुरीको चाङ परेको छ । खेल विकासमा ध्यान दिनेकी अख्तियारको जवाफ । यसको उत्तर कोही संग छैन ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले खेलाडीहरुले खेल खेल्ने तथा प्रशिक्षण गर्ने उपयुक्त वातावरण प्राप्त नगरेको गुनासो गर्दै खेलाडीलाई प्राप्त सेवा सुविधा उपलब्ध गराउन माग गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेलकुद क्षेत्रमा रहेका बिबादित मुद्धाहरुलाई हल गर्न यस्ता प्रकारका छलफल र बहस निरन्तर गर्न सुझाव दिदै लगानी र क्षेत्रफलका आधारमा खेलकुदका पूर्वाधार संघ, प्रदेश र स्थानिय तहलाई जिम्मा दिनुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले खेलकुदमा व्यक्तिवाद हावी भएको दाबी गरे ।
संयोजक गुरुङ्गको अध्यक्षतामा भएको छलफलमा राखेपका पूर्व सदस्य जयराम हमाल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक बिद्या मर्सानी, कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिल श्रेष्ठ, पूर्व खेलाडी विनोद शेरचन, पूर्व प्रशिक्षक शम्भु केसी, कास्की जिल्ला सुटिङ संघका श्यामकृष्ण श्रेष्ठ, वुल्स म्यान क्लव पोखराका नुना गुरुङ लगायतले खेलकुदको विकासमा सबै जुटेर एक भई लाग्नु पर्नेमा जोड दिए ।
