पोखरामा चैत १२ गते दौड प्रतियोगिता, सफल बनाउन जुटे पोखरेलीहरु

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने दौड प्रतियोगितालाई सफल बनाउन पोखरेलीहरु जुट्न थालेका छन् ।

यहि चैत १२ गते शनिवार हुने १० किमि खुला महिला/पुरुष दौड, ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर तथा दृष्टिविहिन महिला/पुरुष दौड सफल बनाउन बुधबार पोखरा महानगरको सभा कक्षमा भएको छलफलमा प्रतियोगिता सफल बनाउन प्रतिवद्धता संगै सवैलाई आग्रह गरेका हुन् । सो अवसरमा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्यालले पोखरा म्याराथन पोखरेलीहरुको आफ्नै कार्यक्रम भएकोले सफल बनाउन आग्रह गरे । उनले भने–“पोखरा म्याराथन अग्रज खेलाडीहरुले सञ्चालन गर्नु हुन्छ, तर यो हामी सबै पोखरेलीहरुको साझ कार्यक्रम हो यसलाई सफल बनाउनु हामी सबैको दायित्व हो ।”

कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले खेलकुदको क्षेत्रमा पोखरा म्याराथन एक महत्वपूर्ण कार्यक्रम रहेकोले चैत्र १२ गते दौड अवधिभर यातयातहरु दौडको रुटमा सञ्चालन गर्न नहुने उल्लेख गरे । उनले भने–“हामी देशकै गौरव गर्ने लायक कार्यक्रम आयोजना गर्छौं तर यहाँको ट्राफिक व्यवस्थापन नहुँदा समस्या आएको छ, यसलाई सम्वन्धित निकायले ध्यान दिन आवश्यक छ ।”

सो अवसरमा वडा नं ७ का अध्यक्ष रामचन्द्र बरालले चैत १२ गते सवै वडावासी र टोलवासीहरुलाई खेलाडीहरुलाई स्वागत गर्न सडकमा आउन आग्रह गरे । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, सहारा क्लव, सिद्धार्थ क्लव, भुतपुर्व सैनिक संघ लगायत संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, मञ्चका आजिवन सदस्य तथा महानगर कार्यपालिका सदस्य सम्मर बहादुर श्रेष्ठ, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, कोषाध्यक्ष महेश पौडेल लगायतले पोखरा म्याराथन अन्तर्गत हुने चैत १२ गतेको विभिन्न दौड प्रतियोगिता सफल बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close