
पोखरा स्पोर्टस ।
नेपाल मुआथाई संघ गण्डकी प्रदेशको आयोजनामा चैतको अन्तिम साता पोखरा रंगशालामा अन्तर्राष्ट्रिय सेमीनार तथा राष्ट्रिय मुआथाई प्रतियोगिता चैतको अन्तिम साता हुने भएको छ ।

नेपाल मुआथाई संघ गण्डकीले आज पोखरामा एक पत्रकार सम्मेलन चैत २४ देखि ३१ सम्म हुने भएको जानकारी दिएको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त कार्यक्रम बारे जाकारी दिंदै राष्ट्रिय खेलकूद परिषदका सदस्य तथा मुआथाई संघका केन्द्रिय कोषाध्यक्ष सम्पन्न श्रेष्ठले यो कार्यक्रमले खेलकूद मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने–“हामी यो कार्यक्रम मार्फत नेपालका लागि मुआथाइको अन्तर्राष्ट्रिय मान्यता प्राप्त उ्रत्कृष्ट प्रशिक्षकहरु तथा निर्णायकहरु उत्पादन गर्दैछौं ।”
नेपाल मुआथाई संघका महासचिब सुदिप पण्डितले उक्त कार्यक्रमका लागि नेपाल मुआथाई संघले आवद्धता लिएको अन्तर्राष्ट्रिय मुआथाई महासंघ (International Federation Of Muay Thai Association -IFMA) का निर्णायक र प्रशिक्षकले कार्यक्रम अवधिभर प्रशिक्षण दिने बताए । उनले चैत २४ देखि २८ गते सम्म सेमीनार तथा चैत २९ देखि ३१ गते राष्ट्रिय प्रतियोगिता आई.एफ.एम.ए को नियममा रही सञ्चालन हुने जानकारी दिंदै त्यसका लागि आई.एफ.एम.एले ४ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक तथा २ जना प्रतिनिधी गरी ६ जनाको टोली पोखरा पठाउने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा उक्त प्रतियोगिताबारे जानकारी दिंदै संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक दिपक बहादुर गोदारले नेपालका सात प्रदेशका २१ जिल्लाबाट खेलाडी, प्रशिक्षक र निर्णायकहरु गरी करिव ४ सय जना भन्दा वढीको सहभागिता हुने बताए । राष्ट्रिय प्रतियोगितामा ४५ देखि ९१ केजी गरी विभिन्न क्याटोगरीमा प्रतिष्पर्धा गराईने भएको उनले बताए । उनले उक्त कार्यक्रम सञ्चालन गर्न करिव ४० लाख खर्च लाग्ने जानकारी समेत गराएका छन ।

प्रतियोगिताका संयोजक प्रदपि पाहारीले प्रतियोगितालाई ‘यूथ एण्ड स्पोर्टस’ सँग जोड्न चाहेको बताउँदै कार्यक्रम मार्फत अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गरी अन्तर्राष्ट्रिय ऐरिनामा नेपाली खेलाडीको बहादुरीको पहिचान दिने बताए । सहभागि खेलाडिहरुलाई आवस व्यवस्थापनको सुविधाका साथै उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारका साथ ट्रफि, मेडल र सहभागि खेलाडीहरु तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिएका छन ।

