गणेशमान सिंह स्मृति बक्सिङ सुरु

पोखरा स्पोर्टस । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।

सोमबारदेखि सुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडी सहभागी छन् । स्व. सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे । ५६ केजीमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई तथा बक्समान्डुका सुरज महर्जनले सीबीसीका लक्ष्मीप्रसाद जोशीलाई हराए । ६० केजीमा नक्साल ए का मौसम राना मगरले मेघदूतका निरज गौतम, ललितका आभाषप्रताप शाहले ए प्रोका अनिश थापा मगर, एसडब्लुटीएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङ, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा तथा टीवाइसीका अनिल पुन मगरले सीबीसीका विकास गुरुङलाई पाखा लगाए ।

पुरुष ६४ केजीमा ललितका सनिल शाहीले टीकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टीवाइसीका दिनेश भण्डारी, सीबीसीका कमल श्रेष्ठले एसडब्लुटीएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ तथा बक्समान्डुका चन्द्र देवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close