प्रधानमन्त्री ओलीलाई पोखरा रंगशालामा स्वागतको तयारी पुरा

पोखरा स्पोर्टस/ तस्विरः सुदर्शन रञ्जित। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालामा स्वागतको तयारी पुरा भएको छ ।

यही फागुन १७ गते सोमबार पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनु हुने भएपछि सोही अवसरमा पोखरा रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले जानकारी दिएका हुन ।

प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला सहित भलिबल कोर्ट, क्रिकेट मैदान,व्याडमिन्टन हल, बहुउद्धेश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको सदस्य सचिब सिलवालले बताए । उनले भने–“राष्ट्रिय खेलकूद परिषद्को संरक्षक समेत रहनुभएका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्धत पुग्नेमा हामी विश्वस्त छौं ।”

सदस्य सचिब सिलवालले प्रधानमन्त्रीको पोखरा रंगशालाको भ्रमणले नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि बाटो खुल्ने बताउँदै भने–“प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्माण भएको खेल पूर्वाधार देखाउने छौँ भने बन्दै गरेको पूर्वाधारका लागि बजेट सुनिश्चितका लागि आग्रह गर्नेछौँ । प्रमको भ्रमणले पोखरालाई खेलकूद पर्यटनको शहरका रुपमा विकास गर्न मद्धत पुग्ने विश्वास लिएका छौँ ।”

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश गुरुङले बताएका छन । यसअघि पोखरामा १३ औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

राखेप सदस्य गुरुङका अनुसार यसअघि तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित समयमा आयोजना हुन नसकेकामा अब नयाँ मिति घोषणाका लागि समेत प्रधानमन्त्रीको रङ्गशाला आगमनले सहज हुनेछ ।

प्रधानमन्त्री ओली रङ्गशाला आउने कार्यक्रम तय भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ तथा जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुले आज साँझ रङ्गशालाको अवलोकन गरेका छन ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाको विभिन्न स्थानमा स्वागतद्धार सहित राष्ट्रिय झन्डाले रङ्गशाला सिँगारिएको छ । प्रधानमन्त्री ओली सोमबार विहान ११ः३० बजे पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री सहभागी बन्नुहुने नेकपा प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले जानकारी दिएका छन । कार्यकर्ताभेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रङ्गशाला जाने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close