
पोखरा स्पोर्टस । गण्डकी प्रदेश आर्चरी संघको अध्यक्षमा किशोर कुमार गुरूङ सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि गुरूङसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष गुरूङले नेपालमा मोर्डन आर्चरी खेलको विकासमा महत्वपूर्ण योगदान गरेका छन् भने उनी आर्चरीका बरिष्ठ प्रशिक्षक समेत हुन् ।
यसै गरी संघको बरिष्ठ उपाध्यक्षमा योगेन्द्र शेरचन, महासचिवमा अणमाया दर्लामी ‘अनिता’, सचिवमा शंकर थकाली, कोषाध्यक्षमा भिम बहादुर पुन सर्वसम्मत निर्वाचित भए ।
त्यसै गरी कार्यसमिति सदस्यमा दिल प्रसाद पुन ‘दम’, राजु तुलाचन, कृष्ण प्रसाद थकाली र जीत बहादुर थकाली गुरूङ निर्वाचित भएका छन् ।
यस अघि कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल आर्चरी संघका पूर्व अध्यक्ष हरि ध्वज तुलाचनले आर्चरी खेलको विकासका लागि संघको सक्रियता आवश्यक रहने कुरामा जोड दिए । उनले यूवा खेलाडी उत्पादन र प्रतियोगिताहरु आयोजना गर्न समेत आग्रह गरे ।
प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आर्चरी संघका केन्द्रिय सचिब योगेन्द्र शेरचन, राष्ट्रिय खेलाडी अशिम शेरचनलगायतले आफ्ना भनाई राखेका थिए ।
सम्पन्न अधिवेशनले गण्डकी प्रदेश आर्चरी संघको विधान समेत पारित गरेको छ ।
