
पोखरा स्पोर्टस । प्रधानमन्त्री तथा राष्ट्रिय खेलकूद परिषद (राखेप)का संरक्षक केपी शर्मा ओली भोली (सोमबार) दिउसो २ बजे पोखरा रंगशाला आउने कार्यक्रम तय भए पछि स्वागतका लागि तयारी तिव्र पारिएको छ ।
राखेपका सदस्य राजेश गुरुङले उक्त कुराको जानकारी पोखरा स्पोर्टसलाई दिंदै स्वागतका लागि तयारी तिव्र पारिएको जनाएका हुन । उनले प्रधानमन्त्रीलाई स्वागत गर्न सबै खेल संघ र खेलाडीलाई पोखरा रंगशाला आउन आह्वान समेत गरेका छन । उनले भने–“प्रधानमन्त्रीज्यूले विशेष महत्व दिंदै पोखरा रंगशाला आउँदै हुनुहुन्छ, उहाँले खेलकूदलाई दिनुभएको मार्गदर्शनले पनि हामीलाई काम गर्न हौसला प्राप्त भएको छ ।”
पोखरा रंगशालामा सबै खेलाडीहरुले आ–आफ्नो खेल पोशाक सहित उपस्थित हुन आग्रह गर्दै राखेप सदस्य गुरुङले भने–“उहाँको पोखरा रंगशालाको अवलोकनले नवौं राष्ट्रिय खेलकूद तयारी तथा पोखरा रंगशालामा रोकिएका निर्माणका कामहरुले तिव्रता पाउनेछ ।”पोखराको खेलकूद बिकासका लागि प्रधानमन्त्रीको भ्रमणले पोखरेली खेलप्रेमीहरुलाई उत्साहित बनाएको राखेप सदस्य गुरुङले बताए ।
प्रधानमन्त्रीलाई पोखरा रंगशालाको निर्माणमा भइरहेका सम्पूर्ण निर्माणबारे जानकारी दिने तथा हिटिङ स्विमिङ पूल, शुटिङ रेन्ज, हक्कीको अन्तर्राष्ट्रिय पूर्वाधार निर्माण, क्रिकेट रंगशालाको निर्माण लगाएतका विषयमा समेत विफ्रिङ गर्ने कार्यक्रम रहेको बताए । उनले भने–“हामी निकै उत्साहित भएका छौं, उहाँको भ्रमणले पोखरालाई खेलकूद शहरको रुपमा विश्वमा परिचय गराउन समेत सहयोग पुग्नेछ ।”
Pokhara Marathon Advt

