
पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी “मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल २०७७” मा शुक्रवार सेमीफाइनलका खेलहरु सम्पन्न भए सँगै फाइनलमा भिड्ने टिमको टुङ्गो लागेको छ ।

शुक्रवार सम्पन्न सेमीफाइनल चरणका खेलहरुबाट महिला तथा पुरुष दुवैतर्फ फाइनलका लागि भिड्ने टिमको पक्का भएको हो । सम्पन्न पुरुषतर्फ स्याङजा र तनहुँले फाइनलमा आफ्नो भेट पक्का गरेका छन । आज सम्पन्न सेमीफाइनल भिडन्तका खेलहरुमा दुवैले आ–आफ्नो खेल जित्दै फाइनलको यात्रा तय गरेका हुन ।


पुरुषतर्फको पहिलो सेमीफाइनल खेलमा स्याङजाले पर्वतलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । स्याङजाले पहिलो दुवै सेट २५–२० र २५–१७ ले जिते पनि पर्वत तेश्रो सेटमा २७–२५ ले फर्कदै स्याङजालाई चुनौती पस्किएको थियो । तर चौथो सेटमा स्याङजा खेलमा फर्किदै २५–१७ ले सहज जित निकाल्दै फाइनलमा तनहुँ संग आफ्नो भेट पक्का गरेको छ ।

यता पुरुषतर्फकै दोश्रो खेलमा तनहुँले प्रतियोगितामा बलियो मानिएको म्याग्दीलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । पहिलो सेट २५–२१ ले जितेको तनहुँले दोश्रो सेटमा ३२–३० ले कठिन जित निकाल्न सफल भयो । निकै रोमाञ्चक भएको प्रतिष्पर्धामा तनहुँले तेश्रो सेट भने २५–१४ ले सहज जित निकाल्यो भने चौथो सेट २२–२०ले जित निकाल्दै फाइनलमा स्याङजा संग भिडने भएको छ ।

यता महिलातर्फको खेलमा म्याग्दीले तनहुँ सँग सोझो सेटमा जित निकाल्दै फाइनलमा पुगेको छ । नेपाल टिमकी कप्तान अरुणा शाही र राष्ट्रिय टिमकी खेलाडी कमला पुन सम्मिलित म्याग्दीले २५–११, २५–१९ र २५–१३ को सोझो सेटमा तनहुँलाई पाखा लगाएको हो । त्यसै गरी दोश्रो खेलमा पर्वतले आयोजक कास्कीलाई २५–१५, २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

प्रतियोगिता प्राविधिक समितीका संयोजक तथा एविसी भलिवल रेफ्री तहल सिंह थापा मगरका अनुसार शनिवार विहान ८ः३० बाट महिला र पुरुष तर्फ दुवैको तेश्रो स्थानका लागि खेलहरु सञ्चालन हुनेछन । महिला तर्फ तेश्रो स्थानका लागि तनहुँ र कास्की तथा पुरुष तर्फ म्याग्दी र पर्वत भिड्नेछन भने महिलाको फाइनल विहान ११ः३० बजे र पुरुषको फाइनल खेल दिउसो १ बजे शुरु हुनेछ ।

मन्त्री गुरुङको प्रतिवद्धता
यसै विच सेमीफाइनल खेलका लागि प्रमुख अतिथी रहेका गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश स्तरिय मुख्यमन्त्री कप भलिवललाई निरन्तरता दिने गरी प्रतिवद्धता जनाएका छन । मन्त्री गुरुङ प्रदेशको समृद्धीका लागि खेलकुदको विकास अपरिहार्य रहेको बताउँदै प्रदेश सरकार खेलकुदको विकासका लागि संधै प्रतिवद्ध रहेको समेत जनाए ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको अध्यक्ष भिम पराजुलीले बताएका छन । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई छ ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक खगेन्द्र गौचनले जानकारी दिएका छन ।


