
पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिवल लिग चरण अन्तर्गतका खेलहरु सम्पन्न भएका छन ।

प्रतियोगिताको दोश्रो दिन पुरुष तर्फ ५ खेल र महिलातर्फ ३ खेल गरी ८ खेल सम्पन्न भएपछि लिग चरणका खेल सम्पन्न भएका हुन । लिग चरणको टुङ्गो लागे सँगै बिहिबारबाट क्वाटरफाइनलका खेलहरु शुरु हुने प्रतियोगिता प्राविधिक समितीका संयोजक तथा एविसी भलिवल रेफ्री तहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई बताए ।
भोली देखि शुरु हुने क्वाटरफाइनलमा पुरुषतर्फ स्याङजा र वागलुङ, म्याग्दी र कास्की, नवलपुर र तनहुँ एक आपसमा भिड्ने छन पर्वत भने सोझै सेमीफाइनलमा प्रवेश पाएको छ । महिलातर्फ म्याग्दी र स्याङजा, तनहुँ र मुस्ताङ, पर्वत र नवलपुर तथा कास्की र वागलुङ क्वाटरफाइनलमा पुगेका छन ।
बुधबार सम्पन्न पुरुषतर्फको खेलमा म्याग्दी, वागलुङ, पर्वतले आ–आफ्नो खेल जितेका छन । वर्षाका कारण हिजो रोकिएको उद्घाटन खेलमा म्याग्दीले बागलुङलाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा म्याग्दीले बागलुङलाई पहिलो सेटमा २५–२१ अंकले चुनौती पश्किए पनि बागलुङ दोश्रो सेटमा लयमा फर्किदै १७–२५ अंकले खेललाई आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा म्याग्दीले आफ्नो लयलाई कायम राख्दै २५–१७ ले खेललाई आफ्नो पक्षमा कायम गर्न सफल बन्यो ।
त्यसैगरी पुरुषतर्फको अर्को एक खेलमा पर्वतले हिमालपारीको जिल्ला मुस्ताङलाई २५–९ र २५–१३ को अंकले पराजित गर्न सफल रह्यो भने यता म्याग्दीले लमजुङलाई सोझो सेटमा पाखा लगायो । म्याग्दीले लमजुङलाई २५–१३ र २५–१४ को अंकले पराजित गर्दै खेलमा आफूलाई जिवन्त राख्न सफल बन्यो । त्यस्तै पर्वतले तनहुँलाई २–१ को सेटमा पाखा लगाएको छ । प्रतिष्पर्धात्मक खेलमा पर्वतले २५–२६, २५–१७ र २५–१६ ले तनहुँलाई पराजित गरेको हो । यसैगरी अर्को एक खेलमा वागलुङले लमजुङलाई २५–१५, २४–२६ र २५–१५ ले पराजित गरेको छ ।
महिला तर्फ सम्पन्न तिन खेलमा वागलुङ, कास्की र तनहुँले विजयी बनेका छन । वागलुङले लमजुङलाई २८–२६ र २५–०६ ले, कास्कीले मुस्ताङलाई २५–११ र २५–०७ ले र तनहुँले वागलुङलाई प्रतिष्पर्धात्मक खेलमा २५–२०, २५–१० र २५–१८ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन ।
गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको अध्यक्ष भिम पराजुलीले बताएका छन । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई छ ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक खगेन्द्र गौचनले जानकारी दिएका छन ।
प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।
