
पोखरा स्पोर्टस । नेपाल एपीएफ क्लबले छैटौं आरबिबि एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलातर्फ मंगलबार जित हात पारेको छ भने गण्डकी प्रदेश पुरुष टिमले लगातार दोश्रो हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपीएफले नेपाल आर्मीलाई २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा पराजित गरेको हो । महिलातर्फ नै एभरेष्ट क्लब, बुटवलले न्यु डायमन्ड एकेडेमीलाई २६–२४, १३–२५, २०–२५, २५–२१ र १५–१३ ले हरायो ।
नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५ र १५–१३ तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११ र २५–२२ ले पन्छाए ।
बैशाख २४ गते सम्म संचालन हुने लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ । पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता रहेको छ ।
