
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले टाइगर कप पुरुषतर्फ उपाधि विजेता गण्डकी प्रदेशको भलिवल टोलीलाई बधाई दिएका छन ।
प्रदेश सरकारद्वारा आयोजित एक भव्य कार्यक्रम सँगै आफ्नो जन्म दिनको अवसर समेत पारेर मुख्यमन्त्री गुरुङले टोलीलाई बधाई तथा शुभकामना दिएका हुन । यहि फागुन १ गते टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित “प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिप” आयोजक गण्डकी प्रदेशले उपाधि जितेको थियो । गण्डकीले विभागिय टोली नेपाल आर्मीलाई उपाधि भिडन्तमा ३–२ सेटले पराजित गरेको थियो ।
सो अवसरमा विजेता खेलाडी तथा टाइगर ग्रुपका पदाधिकारी तथा सदस्यहरुलाई भव्य रुपमा आयोजना गरिएको प्रतियोगिताका लागि बधाई दिंदै मुख्य मन्त्री गुरुङले पोखरालाई स्पोर्टस हवको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । उनले भने–“पोखरा अव प्राकितिक सौन्दर्य तथा पर्यटनको शहरको रुपमा मात्रै होइन पोखरा खेलकुद शहरको रुपमा विश्वमा चिनिने छ ।” उनले पोखराको आर्थिक समृद्धीनै खेलकुद पर्यटनले सम्भव हुने बताउँदै प्रदेश सरकारले यसका लागि आफ्नो योजना सहित अघि वढ्ने बताए ।
यहि फागुन ४ गतेबाट पोखरामा हुन लागेको मुख्यमन्त्री प्रदेश भलिवल प्रतियोगिताबाट महिला खेलाडीको छनोट गरी गण्डकी प्रदेशका लागि वलियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै पदक हासिल गर्न सक्ने खेलाडी उत्पादनमा ध्यान दिने मुख्यमन्त्री गुरुङले बताए । उनले इतिहासमा नै पहिलो पटक गण्डकी प्रदेशले विभागिय टिमलाई पराजित गर्नसक्नु शुखद सन्देश रहेको बताउँदै खेलाडीहरुको सुंविधाका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले गण्डकी प्रदेशको पुरुष टिमले अनुभवी मानिएको विभागिय टोलीलाई पराजित गर्न सक्नुनै अभुतपूर्व रहेको बताउँदै गण्डकी टिमका होनहार खेलाडीहरुको संरक्षणका लागि प्रदेश सरकारले विशेष पहल गर्न आग्रह गरे । उनले भने–“यो उपाधि जित्नु महत्वपूर्ण हो, तर अव यि खेलाडीको संरक्षण हुन आवश्यक छ, संरक्षण गर्न नसक्दा फेरिकुनै विभागिय टोलीले उनीहरुलाई लैजाने सम्भावना वढ्छ ।”
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री राम शरण वस्नेत, सरकारका प्रमुख सचिब विष्णुप्रसाद नेपाल, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द नेपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय राजेश गुरुङ र रेणुका श्रेष्ठ, नेपाल भलिवल संघका उपाध्यक्ष याम गुरुङ, एशियन क्यान्डिडियट भलिवल रेफ्री तहल सिंह थापा मगर, राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही, प्रतियोगिताका संयोजक नविन गुरुङ लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले खेलाडी तथा ग्रुपका पदाधिकारी तथा सदस्यहरुको परिचय गराएका थिए । सो अवसरमा विजेता टोली गण्डकीले मुख्यमन्त्री गुरुङलाई ट्रफी हस्तान्तरण गरेको थियो ।
यो पनि पढ्नुहोस
नपत्याउने खोलाले बगायो, सेट टिम आर्मीलाई फाइनलमा गण्डकीले हरायो
https://pokharasports.com/2021/02/13/22297/
