
पोखरा स्पोर्टस । पोखराको खेलकुद विकासका लागि संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा स्विमिङ पुल, फल्ड्लाईट, शुटिङको पूर्वाधार निर्माण सँगै पोखरा म्याराथनका लागि समेत बजेट विनियोजन गरेको छ ।
पोखरामा लामो देखि प्रतिक्षामा रहेको स्विमिङ पुल निर्माण शुरु गर्न संघिय सरकारले आव २०७८/०७९ का लागि ६ करोड विनियोजन गरेको हो । करिव ३८ करोडको लागतमा निर्माण हुने हिटङ स्विमिङ पुल बजेट अभावका कारण एक वर्ष देखि डिपिआर बनिसकेको भए पनि टेन्डर आह्वान हुन सकेको थिएन । संघिय सरकारले बजेट विनियोजन गरेपछि स्विमिङ पुल निर्माणको कार्य अघि बढ्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक वर्ष देखि नवौं राष्ट्रिय खेलकुदका लागि भन्दै पोखरा रंगशालामा स्विमिङ पुल र शुटिङ हल निर्माण कार्य अघि बढाउने बताउँदै आएको थियो । तर दुवै पूर्वाधार निर्माण कार्य बजेट अभावका कारण हुन सकेका थिएनन । यस्तै पोखरा रंगशाला भित्रै निर्माण हुने शुटिङ हलका लागि २ करोड विनियोजन भएको छ । पोखरा रंगशालामा निर्माण हुने शुटिङहलका लागि करिव १४ करोड खर्च हुने अनुमान गरिएको छ । निर्माण हुने दुवै पूर्वाधारहरु बहु वर्षिय योजना अन्तर्गत निर्माण हुन लागेका हुन ।
यस्तै पोखरा रंगशालामा निर्मार्णाधिन अवस्थामा रहेको फुटबल स्टेडियममा फल्ड् लाइटका लागि संघिय सरकारले ५ करोड विनियोजन गरेको छ । पोखरा फुटबल स्टेडियमको ‘नेचरल पिच’ सँङ्गै १६ हजार ५ सय दर्शक क्षमताको भएकोमा अव फल्ड् लाइट पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनागर्न सहज हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । उनले भने –“पोखरा रंगशाला भित्र फल्ड् लाइट भयो भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सहज हुन्छ भनेर नै मैले फल्ड् लाइटका लागि भन्दै आएको थिंए, केही हद सम्म भए पनि यो रकमले सहज हुनेछ ।”
पोखरा रंगशालामा फल्ड् लाइटका लागि करिव १४ करोड खर्च लाग्ने जनाइए पनि गण्डकी प्रदेश सरकार सँग समेत आफूले कुराकानी अघि बढाएको अध्यक्ष शेर्पाले बताए । करिव ९० प्रतिशत निर्माण कार्य सकिएको पोखरा रंगशालाको फुटबल स्टेडियममा थप ३ हजार ५ सय कुर्ची थप्ने तयारी राखेपले गरेको छ ।
यसै गरि संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भुतपर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आइरहेको पोखरा म्याराथनका लागि समेत ५ लाख विनियोजन गरेको छ ।
त्यस्तै नवौं राष्ट्रिय खेलकुद तयारीका लागि पूर्वाधार मर्मत गर्न ५० लाख विनियोजन गरिएको भए पनि नवौं राष्ट्रिय खेलकुद कहिले हुने भन्ने बारे टुङ्गो लाग्न भने सकेको छैन । यदि गण्डकी प्रदेशमा आव २०७८÷०७९ मा नवौं राष्ट्रिय खेलकुद आयोजना भयो भने पोखरा रंगशालाको खेलकुद पूर्वाधार मर्मतका लागि ५० लाख विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
