
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि खेलकुद शिर्षक अन्तरगत विनियोजन भएको बजेटका लागि आभार व्यक्त गरेका छन ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सोमबार प्रस्तुत गरेको बजेट अन्तरगत आर्थिक वर्षका लागि ९ करोड ८५ लाख विनियोजन गरे पछि बजेटले गण्डकी प्रदेशको खेलकुद विकासमा भुमिका निर्वाह गर्ने बताउँदै राखेप सदस्य गुरुङले आभार व्यक्त गरेका हुन ।
गण्डकी प्रदेशको खेलकुद विकासका लागि बजेट ल्याउन भुमिका खेल्ने सवै सरोकारवालाहरुलाई धन्यवाद दिंदै अवको खेलकुद बजेट फिर्ता नजाओस भन्नका लागि पनि सवै पक्ष सचेत र जागरुक हुनुपर्ने उनले बताए । उनले भने–“विगतका वर्षमा झैं बजेट फ्रिज हुनु दुःख लाग्दो विषय छ, अवको बजेट सहि ढङ्गले सदुपयोग हुनेछ भन्नेमा आशावादी छु ।”
गण्डकी प्रदेशमा क्रिकेट, उच्च उचाई खेलकुद ट्रेनिङ सेन्टर, स्की र एक स्थानिय तह एक खेलमैदानका लागि समेत गरि ८ करोड ३५ लाख तथा नवौ राष्ट्रिय खेलकुदका लागि खेलाडी व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख, तथा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि समेत बजेट विनियोजन भएको छ ।
