
पोखरा स्पोर्टस । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यथासिघ्र घोषणा गर्न यूवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद (राखेप)का अध्यक्ष तेजुलाल चौधरीलाई पत्रचार गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले मन्त्रीलाई दशौं राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र कर्मचारी समायोजनको विषयलाई लिएर यथासिघ्र राखेपको बोर्ड बैठक बोलाउन पत्रचार गरेको सदस्य सचिब श्रीधर शर्माले बताए ।
जिल्ला खेलकुद कास्कीको आम्दनी ह्वात्तै बढ्यो
प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले पोखरा रंगशाला जिल्ला खेलकुद विकास समिति कास्कीको जिम्मेवारीमा दिए संगै आन्तरिक आम्दनी ह्वात्तै बढेको बताएका छन् । पत्रकारहरु संग कुरा गर्दै सदस्य सचिब शर्माले ७/८ महिना यता करिव १२ लाख भन्दा बढि आम्दनी भएको उनले बताए । उनले भने–“पोखरा रंगशालाको आम्दानीको चुहावटका विषयमा यस अघि धेरै पटक विषयहरु उठिरहेका थिए । अख्तियार दुरोपयोग अुनशन्धानका पत्रहरुको पनि हामीले सामना गरेका थियौं । हामी जवाफ दिंदा हैरान पनि भयौं । तर अहिले पोखरा रंगशालाको स्रोत व्यवस्थित भएको छ भने आम्दनी समेत बढेको छ ।”
पोखराका खेलकुद पत्रकारहरु संग भेटघाट गरी सोमबार सम्पन्न परिषदको कार्यकारी समितिको बैठकको निर्णय बारे जानकारी दिंदै सदस्य सचिब शर्माले भने–“गण्डकी प्रदेशका नागरिक र खेलाडीहरुललाई शाक्षी राख्दै तोकिएको मितिमा नै कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न झण्डा हस्तान्तरण भएको हो,” उनले भने–“अहिले खेलकुद क्षेत्र र खेलाडीहरु अन्यौल ग्रस्त आवस्थामा छन् । राखेपको बोर्ड बैठक बसेर यथासिघ्र यो अन्यौलतालाई हटाउन हाम्रो कार्यकारी समितिले राखेपका अध्यक्ष ज्यूलाई आग्रह सहितको पत्र पठाउने निर्णय गरेको हो ।”
यूवा तथा खेलकुद मन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ–“दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति लगाएतको संशोधन तत्काल हुन नसकेमा यस परिषदद्वारा आयोजना/संचालन हुने खेलकुद गतिविधिमा समेत अन्यौलको अवस्था सृजना हुन आएकोले सो सम्बन्धमा आधिकारीक छलफल र निर्णय आवश्यक छ।”
यस्तै विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पालिका, जिल्ला र प्रदेश स्तरीय प्रतियोगिता संचालन तथा आयोजना सम्बन्धमा समेत् राखेपको बोर्ड बैठकमा छलफल आवश्यक रहेको औंल्याउँदै सदस्य सचिब शर्माले भने–“खेलाडी उत्पादनको मेरुदण्डको रुपमा रहेको उक्त प्रतियोगिता अहिले सम्म अन्यौलमा छ । यस अघि पालिका, जिल्ला र प्रदेशलाई विनियोजन हुँदै आएको बजेट समेत हुन सकेको छैन ।”
सदस्य सचिब शर्माद्वारा हस्ताक्षरित पत्रमा प्रदेशको भौगोलिक क्षेत्र भित्र पर्ने खेलकुद पूर्वाधार र खेल मैदानहरुको लागी नेपाल सरकारद्वारा आ.व.२०८१/०८२ मा रा.खे.पको वार्षिक कार्यक्रम तथा बजेटमा रहेको रकमबाट कार्यान्वयन हुने निर्माण योजनाहरुमा यस परिषद, सम्बन्धित जि.खे.वि.स. र पालिकाहरु विच समन्वय र सहकार्यको आवश्यक रहने विषयमा पत्रमा जोड दिइएको छ ।
यसै गरी जिल्ला खेलकुद विकास समिति कास्कीमा राखेपको वोर्ड निर्णय विपरित र प्रचलित ऐन,नियम, कानुन विपरित कर्मचारीहरुलाई पत्रचार गरी गैरकानुनी र क्षेत्राधिकार विहिन तरिकाले कार्यालय प्रमुख तोकिएको सम्बन्धमा छलफल र निर्णय आवश्यक रहेको पत्रमा औंल्याइएको छ । साथै कर्मचारी दरबन्दी, बढुवा, र समायोजन तथा अस्थाई,करार कर्मचारीहरुको व्यवस्थापन, रिक्त दरवन्दीमा प्रशिक्षक तथा कर्मचारीको नियुक्ती व्यवस्थापन सम्बन्धी छलफल र निर्णय आवश्यक रहेको पत्रमा उल्लेख छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहि मंसिर २ गतेबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भनिए पनि आयोजनाको मिति तीन दिन घर्की सक्दा पनि सरकार भने मौन रहेको छ । आव २०८१/०८२ को बजेट ६० करोड बजेट विनियोजित भइसक्दा समेत खेलकुद क्षेत्रलाई अन्यौल बनाउँदा रोष संगै खेलकुद क्षेत्र लथालिङ्ग अवस्थामा पुगेको छ ।
यता सातै प्रदेशका सदस्य सचिब र राखेपका बोर्ड सदस्यहरुले समेत राखेपको बोर्डका एक तिहाई सदस्यहरुले यथासिघ्र राखेपको बोर्ड बैठक बोलाउन दवाव दिने गरी पत्रचार गर्ने तयारी समेत गरिरहेको जनाइएको छ ।
