
पोखरा स्पोर्टस । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वाधार उपसमितिले आफ्नो काम थालेको छ ।
उक्त उपसमितिमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ संयोजकमा र सचिवका पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा कार्यरत निर्देशक कृष्ण तिमिल्सिना रहेका छन् । उपसमितिका संयोजक गुरुङसहितको टोलीले शनिबार पोखरा १७ स्थित सहारा एकेडेमीको खेल मैदान अवलोकन गरेको छ । उक्त खेल मैदान नवौं राष्ट्रिय खेलकुदमा कुन खेल आयोजनाका लागि गर्ने भन्ने विषयमा टुङ्गो नलागे पनि सम्भवत रग्वी वा महिला हक्की वा आवश्यक्ता अनुसार अन्य खेल आयोजना गर्ने गरी प्रयोगमा ल्याउने तयारी गरिएको संयोजक गुरुङले बताए ।
३९ वर्ष पछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पूर्वाधार उपसमितिका संयोजक गुरुङले पूर्वाधारका लागि पोखराका विभिन्न वडाहरुमा निर्माण सम्पन्न भएका कभर्डहलहरु र खेल मैदानहरुको भरपुर उपयोग गरिने बताए । उनले भने–“सात प्रदेश, विभागिय टोली, गैर आवाशिय टोली पोखरामा आउने भएकोले प्रशिक्षणस्थल संगै खेल मैदानहरुको स्त्तरोन्नती आवश्यक छ । त्यसका लागि मेरो अन्तर्गत रहेको समितिले रात दिन नभनी खटिने छ ।”
सहारा एकेडेमी पूर्वाधारको हिसावले उपयूक्त खेल मैदान भएको र पोखरा रंगशालाबाट नजिकमा पर्ने भएकोले उक्त खेल मैदानको भरपुर उपयोग हुने बताए । उनले भने–“यहाँ कुनै कुराको कमि छैन, शौचालयलगायत अन्य सुविधाहरु पनि रहेकोले हामीले यो खेल मैदानको अधिकतम उपयोग गर्न सक्छौं ।” उनले पूर्वाधार तयारी समितिले निरिक्षण गरेका खेल मैदान र पूर्वाधारहरुको विषयमा प्राविधिक टोलीलाई जानकारी गराउने र उनीहरुको राय बमोजिम अगाडी बढ्ने उल्लेख गरे ।
नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म पोखरामा हुँदैछ ।
तस्विरः सुदर्शन रञ्जित
