पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहबार) पोखरा आउँदै छ ।
२०२२ मा कतारको दोहामा हुने विश्वकप छनोट चरणको तयारीका लागि टोली पोखरा आउन लागेको हो । करिव दुई साताको बन्द प्रशिक्षणका लागि राष्ट्रिय टिम लामो समय पछि पोखरा आउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का टिम तयारी समितीका संयोजक मधुुसुदन उपाध्यायले पोखरा स्पोर्टसलाई बताए ।

पोखरा आउने राष्ट्रिय टोलीको पोखरा वसाईको सम्पूर्ण व्यवस्थापन पुरा भएको जानकारी दिंदैं संयोजक उपाध्ययले राष्ट्रिय टिम पोखरा लेकसाइडको कुटी रिर्सोटमा बस्ने जनाए । उनले भने–“हामी निकै उत्साहका साथ पोखरा आउँदै छौं । लामो समय देखि एन्फा क्म्प्लेक्सकमा अभ्यासरत रहेको टिम पोखरा आएपछि ‘रिफ्रेस्मेन्ट’ प्राप्त गर्नेछ ।”
पोखरामा प्रशिक्षणको क्रममा राष्ट्रिय टोलीले प्रशिक्षण सँगै हाइकिङ र अन्य रिफ्रेसमेन्ट कार्यक्रमहरु तय गरिएको संयोजक उपाध्यायले जानकारी दिए । करिव ३ देखि ४ बजे सम्म पोखरा आइपुग्ने टिमको कार्यक्रम रहेको बताउँदै पोखराको तयारीले विश्वकप छनोट खेल अन्तर्गत घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा रहेको उपाध्यायले बताए ।
टिम पोखरा आउने भए पछि खुसी व्यक्त गर्दै पोखराका अग्रज फोटो पत्रकार तथा कास्की फुटबल संघका पूर्व सचिब समेत रहेका सुदर्शन रञ्जितले पोखराको फुटबल विकासमा सहयोग पुग्ने बताए । उनले भने–“कोभिड १९ का कारण खेलकुद गतिविधी चलायमान बनाउन राष्ट्रिय टोलीको पोखरा बसाईले महोल बनाउने भएकोले पनि पोखरेलीहरु स्वागतका लागि आतुर छन ।”
माघ २१ गते सम्म पोखरामा प्रशिक्षणमा व्यस्त रहने राष्ट्रिय टोलीले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान, विजयपुर नेपाली सेनाको खेल मैदान, लामाचौरको गोष्ते फुटबल मैदान, हेम्जा स्थित गौरी शंकर खेल र विष्णु पादुका खेल मैदान हेम्जामा प्रशिक्षण गर्ने कार्यक्रम रहेको कास्की जिल्ला फुटबल संघका सचिब रमेश कार्कीले बताए ।
पोखरा आउने राष्ट्रिय टोली ३५ जना खेलाडी र ९ जना अफिसियल सहित ४४ सदस्यिय टोली पोखरा रहेको छ । टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन ।
सन २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपालले होम ग्राउण्डमा तिन म्याच खेल्न वाँकी छ । यस अघि भएको अवे म्याचमा नेपाल अस्ट्रेलिया सँग पराजित भइसकेको छ भने चाइनिज ताइपेइलाई जितेको छ । होम ग्राउण्डमा नेपालले चाइनिज ताइपेई सँग चैत १२ गते र अष्ट्रेलिया सँग चैत १७ गते खेल्दैछ भने जोर्डन सँग जेठमा मात्रै छनोट खेल हुनेछ ।
