
पोखरा स्पोर्टस । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ तथा कास्की जिल्ला भलिवल संघको आयोजना र नेपाल भलिवल संघको संयोजनमा पोखरामा यहि पौष २४ गते पुरुष तर्फको भलिवल प्रतियोगिता हुने भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाइस विद्यामा मनोनयनमा परेकी राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीलाई जिताउन प्रतियोगिता आयोजना गरिएको हो । नेपाल भलिवल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङका अनुसार प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेशका ५ जिल्लाका टिमहरुका विच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल भने पौष २५ गते हुनेछ ।
कोभिड–१९ को महामारी पछि पोखरा रंगशालामा लामो समय पछि हुन लागेको प्रतियोगितामा वागलुङ, पर्वत, स्याङजा, कास्की र नवलपुर जिल्ला भलिवल संघका टिमको सहभागिता रहने भएको केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । सोही प्रतियोगिता अन्तर्गत नै महिलाको पदर्शन खेल समेत हुने भएको छ । पदर्शन खेलमा शसस्त्र प्रहरीवलको एपिएफ र न्यू डायमण्डका विच खेल हुने आयोजकले जनाएको छ ।
पल्सर स्पोर्टस अवार्डमा भलिवलकी अरुणालाई जिताउन विभिन्न कार्यक्रमहरु आयोजना गरि रकम संकलन गर्ने तथा भोटिङ गर्ने कार्यलाई पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघले गरिरहेको छ । अरुणालाई जिताउन उनको गृह जिल्ला म्याग्दीमा समेत कार्यक्रमहरु भएका छन भने हाल सम्म करिव ४ लाख भन्दा वढी रकम संकलन भइसकेको छ ।
अरुणालाई जिताउन देश विदेशमा रहेका भलिवल खेलाडी देखि खेलप्रेमीहरुले रकम संकलन गरेको केन्द्रिय सदस्य गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“विगतमा जस्तै गरि हामीले नेपालको राष्ट्रिय खेल भलिवलकी कप्तान अरुणालाई जिताउन प्रयास गरिरहेका छौं, यसमा केन्द्र देखि जिल्ला र स्थानिय तह सम्म तथा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारि छ ।”
