
पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा लमजुङ जिल्ला फुटबल संघका अध्यक्ष लोकेन्द्र गुरुङ चयन भएका छन ।
गोरखामा शनिवार सम्पन्न भेलाले लोकेन्द्रलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेशका ८ जिल्लाका अध्यक्ष तथा प्रतिनिधी सहितको भेलाले प्रवक्ता सहित १८ सदस्यिय कार्यसमिती निर्विरोध चयन गरेको छ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ वरिष्ठ उपाध्यक्ष रहेको समितीको उपाध्यक्षहरुमा रामराज गुरुङ (बागलुङ), सेत बहादुर पुन (नवलपुर), निरज गुरुङ (मनाङ) रहेका छन । गोरखाका दिपेन्द्र श्रेष्ठलाई भने यथावत रुपमा महासचिबको जिम्मेवारी दिइएको छ ।
त्यस्तै तनहुँका ज्योती श्रेष्ठ, गोरखाका प्रेम बहादुर गुरुङ, कास्कीका प्रितम गुरुङ र स्याङजाका प्रकाश पगेनीलाई सहायक महासचिबको जिम्मेवारी दिइएको छ भने स्याङजा जिल्ला फुटबल संघका अध्यक्ष मुक्त राना कोषाध्यक्ष र कास्कीका नर बहादुर गुरुङ सह कोषाध्यक्षमा चयन भएका छन ।
कार्यसमितीको सदस्यहरुमा दिल कुमारी घिमिरे (दुर्गा) (नवलपुर), वेद वहादुर गुरुङ (मनाङ), सुमन गुरुङ (गोरखा), हरि खडका (कास्की), विनोद गुरुङ (लमजुङ) चयन भएका छन भने प्रदेश फुटबल संघको प्रवक्तामा कास्कीका रमेश कार्कीलाई चयन गरिएको छ । यस अघि कार्की समितीको सचिव पदमा रहेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि अध्यक्ष रहेको धरम बहादुर लामिछानेको समितीले केन्द्रलाई गठन गरेको प्रतिवेदन नवुझाएको भन्दै समिती पुनर्गठन गरेको हो । तर लामिछानेले प्रतिवेदन बुझाएको भए पनि पुर्वाग्रही ढङ्गबाट आफूलाई निस्कासित गरिएको बताएका छन । उनले गोरखामा वोलाईएको भेलाबारे आफूलाई कुनै जानकारी समेत नदिइएको र आफूलाई वाइपास गर्दै पुनर्गठन गरिएको बताउँदै एन्फाले फुटबल विकास भन्दा पनि विवाद मात्रै ल्याउने काम गरेको आरोप लगाए ।
एन्फाका उपाध्यक्ष कृष्ण थापा प्रमुख अतिथी रहेको आजको भेलामा एन्फाका आधा दर्जन भन्दा वढी पदाधिकारी उपस्थित रहेको प्रदेश प्रवक्ता चयन भएका कार्कीले जानकारी दिए । उपाध्यक्ष शिक्षित पराजुली, महासचिब इन्द्रमान तुलाधर, सह–महासचिबद्वय प्रकाश पगेनी, विश्व पौडेल लगाएत केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस मध्ये पगेनीलाई पुनर्गठन गर्न संयोजकको जिम्मेवारी दिइएको थियो ।
पुनर्गठित कार्यसमितीको कार्यकाल चार वर्षको हुने जनाइएको छ । समितीको आजै सम्पन्न वैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।
