
पोखरा स्पोर्टस । निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङकी आमा तथा समाजसेवी जोगमाया गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

मन्त्री विश्वकर्मा पोखरा रामघाट स्थित वौद्ध अघौं सदनमा पुगि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको हो । राखेप सदस्य गुरुङकी आमाको शुक्रबार उपचारको क्रममा ७४ वर्षको उमेरमा मनिपाल शिक्षण अस्पतालमा निधन भएको थियो । उहाँको वौद्ध धार्मिक परम्परा अनुसार आज अन्त्येष्टि गरिएको हो ।

यसै गरि राखेपका सदस्यहरु गोविन्द भट्टराई, सम्पन्न श्रेष्ठ, रेनुका श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सना, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर पालिका वडा नं ३ का अध्यक्ष रविन्सन प्रजु, वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, १५ का अध्यक्ष प्रकाश पौडेलले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

त्यसै गरि पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका जिल्ला अध्यक्ष दिपक गाृदार सहित कोल्मा वहाकोट समाजका अध्यक्ष सहित पदाधिकारीहरु,उधोगी तथा व्यवसायीहरु, समाजसेवी लगाएत अन्तिम श्रद्धाञ्जली दिन वौद्ध अर्घौं सदन पुगेका थिए ।

स्याङजा पुतलीवजार नगरपालिका वडा नं ९ पुख्र्यौली घर भई पोखरा वडा नं १५ की स्थायी वासिन्दा स्व. गुरुङ कोल्मा वहाकोट तमु समाजको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा पोखरामा कोल्मा बहाकोट तमु समाजको भवन निर्माणको योजनाले समेत मुर्तरुपमा पाएको थियो भने उहाँ विभिन्न सामाजिक क्षेत्रमा योगदान दिंदै आउनुभएको थियो । उहाँको ३ छोरा मध्ये जेठा छोरा राजेश गुरुङ राखेप सदस्य, माइला छोरा अर्जुन हाल अष्ट्रेलिया र कान्छा छोरा महेश राष्ट्रिय अनुशन्धान म्याग्दीको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

