नेपाल खेलकुद महासंघ गण्डकी अधिवेशनमा होमियो, अध्यक्षमा चार जनाको दावेदारी

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटिको दोस्रो अधिवेशन यहि जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ ।

महासंघको अधिवेशनको मिति नजिकिए संगै अध्यक्षमा दावेदारी गर्नेहरुको संख्या समेत बढ्दै गएको छ । पोखरा महानगर पालिका वडा नं २५ स्थित हेम्जाको एक पार्टी प्यालेसमा हुने अधिवेशनका लागि हाल सम्म चार जनाले दावेदारी प्रस्तुत गरेको नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब विष्णु पुनले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न गठित अधिवेशन आयोजक समितिका संयोजक बोधराज गिरीले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । त्यसै गरी सचिब इश्वर अधिकारी, रमेश कार्की र विकाश खड्काले समेत अध्यक्षमा दावेदारी प्रस्तुत गरेको सचिव पुनले जानकारी दिए ।

दोस्रो अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र विभिन्न ७ खेलका प्रतिनिधि एवं आयोजक समिति गरी १५१ जनाको सहभागिता हुनेछ । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, उपसचिव २ र कोषाध्यक्ष १ गरी ७ पदाधिकारीसहित बढिमा ४५ सदस्यिय कार्यसमिति चयन गर्नेछ ।

प्रारम्भिक रुपमा विभिन्न पदमा दावेदारी प्रस्तुत गरे पनि सर्वसम्मत नेतृत्व चयन गरिने पार्टीका खेलकुद इन्चार्ज समेत रहेका पुनले जनाएका छन् । उनले भने–“अधिवेशनमा सबैले आ–आफ्नो दावेदारी प्रस्तुत गर्नु लोकतान्त्रिक अभ्यास हो । तर महासंघलाई सवल र चलायमान बनाउन सर्वसम्मत र सबैलाई समेटेर अघि बढ्न सक्ने नेतृत्व चयन हुनेछ ।”

दोस्रो अधिवेशनको जेठ ३० गते नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरूङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  महासंघको पहिलो अधिवेशनले विष्णु पुनलाई अध्यक्षमा चयन गरेको थियो । तर उनी केन्द्रिय समितिमा निर्वाचित भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close