
पोखरा स्पोर्टस । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजनको क्लब मछिन्द्र फुटबल क्लबले विभागिय टोली एपिएफ क्लब बिरुद्ध शानदार जित निकालेको छ ।

२४औं आहा रारा पोखरा गोल्डकपको दोस्रो प्रि क्वाटरफाइनलमा मछिन्द्रले एपीएफलाई २–० ले पराजित गरेको हो । जित संगै मछिन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ । मछिन्द्रले अब सेमिफाइनल प्रवेश गर्न थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको दोस्रो हाफमा मछिन्द्रले अग्रता लियो । मछिन्द्रका लागि आदित्य शाक्यले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आयुष घलानले मैदानको मध्य भागबाट दिएको पासलाई आदित्यले सदुपयोग गर्दै पेनाल्टी बक्समा पुर्याउँदै उत्कृष्ट फिनिसिङका साथ गोल गरे । दोस्रो हाफमा मनिष डाँगीलाई प्रतिस्थापन गर्दै उनी मैदान छिरेका थिए । उनी ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
मछिन्द्रले ८१ औं मिनेटमा गोलको अग्रता दोब्बर बनायो । स्टेफन कामाहाले गोल गर्दै मछिन्द्रलाई जितको बाटो तय बनाए । देवेन्द्र तामाङले हानेको फ्रिकिकमा कामाहले हेड मार्फत गोल गरे ।
बिहिबारको खेल एपआिइ चर्च ब्वाइज फुटबल क्लब र न्यूरोड टिमका बीच तेस्रो प्रिक्वार्टर फाइनल खेल हुनेछ ।
