
पोखरा स्पोर्टस । शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याङजामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याङजाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।

स्याङजाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट लिएका थिए । जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदान उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए । त्यस्तै अर्जुन कुमालले २२ रन जोडेका थिए ।
खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए । जितसंगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरविच प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौंकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । नेपालमा १० वटा ठूला क्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्ष भित्र नेपालका सातै प्रदेशमा अन्र्तराष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी समेत गर्नुभयो । गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको बताउँदै यहाँपनि मैदान तयार पार्दै खेल्दै पनि जानुपर्ने र पोखरालाई क्रिकेट खेलको केन्द्रको रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरामा क्रिकेट विकासका लागि सधै माछापुच्छे फेवाताल भनेर मात्रै नपुग्ने बताउनुभयो । क्रिकेट विकासका लागि पहिला पूर्वाधारकै विकास हुनुपर्नेमा जोड दिनुभयो । पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा एउटा चेन्जिङ्ग रुम र कार्यालय कोठा समेत नहुँदा संघ तथा खेलाडीहरु मर्कामा परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राखेप सदस्य राजेश गुरुङ र नेपाल क्रिकेट संघका सदस्य ऋषीराम गौतमको उपस्थिती रहेको थियो । कार्यक्रममा हालै पश्चिमाञ्चल क्षेत्रिय खेलुकदमा निर्देशक पदमा वढुवा हुनुभएका कृष्ण तिमिल्सिनालाई सम्मान गरिएको थियो ।
