
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २३ स्थित नमुना भलिवल खेल मैदानमा शिद्ध बराह भलिवल प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ ।
सो प्रशिक्षण केन्द्रको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै उहाँले भलिवल प्रशिक्षण केन्द्रको शुरुवातले त्यस क्षेत्रको भलिवल खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

राखेप सदस्य गुरुङले बाम्दी नमुना भलिवल मैदानको विस्तार विकासका लागि राखेपले थप वजेट विनियोजन गर्ने बताउँदै भलिवल संगै व्यडमिन्टन, बास्केटबल खेल मैदानको समेत निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले खेल पूर्वाधारको विकास संगै महानगरको विकासका लागि सवै दलहरु एकजुट भएर अगाडी वढ्न समेत आग्रह गर्नुभयो ।

पोखरा २३ का अध्यक्ष विष्णु प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले प्रशिक्षण केन्द्रका लागि समितीको तर्फबाट सक्दो खेल सामाग्री सहयोग संगै खेल मैदानको विस्तार एवम विकासका लागि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले बाम्दी भलिवल खेल मैदानमा उत्पादन हुने खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गर्न सकुन भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षण केन्द्रको शुरुवातले बाम्दी भलिवल खेल मैदानको थप विकास र विस्तारका लागि समेत बाटो खुलेको बताउनुभयो ।

हाल उक्त प्रशिक्षण केन्द्रमा महिला २० तथा पुरुष २२ जना खेलाडीहरु गरि ४२ जनाले प्रशिक्षण लिइरहेको प्रशिक्षक देवराज पराजुलीले जानकारी दिनुभयो ।
