
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले बिहिबार पोखरा रंगशालामा आयोजना गर्ने वृहत् रक्तदान तथा खेलाडी सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एकेडेमीले बुधवार पोखरामा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि कार्यक्रमको तयारी पुरा भएको जनाएको हो । कार्यक्रम बारे जानकारी दिंदै एकेडेमीका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले एकेडेमीले रक्तदान संगै खेलाडी सम्मानलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–“सम्माननिय प्रधानमन्त्रीज्यूको संरक्षकत्वमा एकेडेमी अघि बढेको छ र उहाँकै प्रेरणाले हामीलाई काम गर्न हौसला मिलेको छ ।”
एकेडेमीले आफ्नो स्थापना समय देखिनै खेलाडीहरुको हौसला अभिवृद्धीका लागि खेलाडीलाई सम्मान गर्दै आइरहेको संयोजक गुरुङले बताउँदै यस पटकको कार्यक्रममा खेल्ने क्रममा घाइते भएका खेलाडी र दुर्घटनामा निधन भएका खेलाडीलाई नगद सहित सम्मान गरिने जानकारी दिनुभयो ।
एकेडेमीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित तिन जना खेलाडीलाइ आधा तोला सुन बरावरको रकम र सम्मानपत्रबाट सम्मान गर्न लागेको छ । त्यसैगरि साग अन्तरगत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने संघहरु, विषयगत समितीहरु, पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई समेत सम्मान–पत्र सहित सम्मान गर्ने कार्यक्रम रहेको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसै गरि खेल्ने क्रममा घाइते भई हाल उपचारर्थ खेलाडी तथा दिवङ्गत भएका खेलाडीका परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको संयोजक गुरुङले जानकारी दिनुभयो । हालै निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी स्व.राजु गैरे (नेपाली)को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ, पोखरामा रहि महिला भलिवल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जिवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने एकेडेमीले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा एकेडेमीका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठको समेत सहभागिता रहने भएको छ । कार्यक्रमलाई सफल बनाउन पूर्व शसस्त्र प्रहरी महानिरिक्षक स्वर्गिय सहविर थापाका छोरा किष्ट हस्पिटलका सिइओ आशिष थापा साथै सहारा हङकङका अध्यक्ष दिपक गुरुङ तथा अन्यले सहयोग गर्नुभएको छ ।
