मञ्चले आजिवन सदस्य योगेशलाई गर्‍यो स्वागत, “च्यारिटीका लागि आउँदैछु”

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्य योगेश गुरूङलाई स्वागत गरेको छ ।

विभिन्न सामाजिक संस्थमा आवद्ध समाजसेवी गुरूङ हालै यूके बाट आफ्नो मातृभूमी आएका हुन् । मञ्चको माध्यमबाट यूवा धावकहरु उत्पादन गर्न आफ्नो व्यक्तिगत प्रयासबाट ७ लाख ५१ हजार संकलन गरी अक्षयकोषको समेत स्थापना गरेका उनले आगामी दिनमा समेत मञ्चको हितका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

हालै मात्र यूकेको प्रतिष्ठित संस्था तमु धिं यूके बाट  ‘आदर्श तमु अवार्ड’ बाट समेत सम्मानित भएका योगेशले मञ्चले आयोजना गर्ने पोखरा म्याराथनको जगलाई बलियो बनाउन आफ्नो हरसम्भव प्रयास रहने बताउँदै भने–“आगामी फागुन ७ गते हुने १६ औं सस्करणको म्याराथनमा समेत म च्यारिटीका लागि पोखरा म्याराथनमा सहभागी हुने सोँच बनाइसकेको छु ।” कुन उद्धेश्यका लागि च्यारिटी गर्ने विषय केही समय पछि खुलासा गर्ने बताउँदै त्यो विषय पोखरा म्याराथनका लागि नयाँ गोरेटो हुने उल्लेख गरे ।

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज गुरूङले परिषदले यूवा खेलाडीहरु उत्पादन गर्न प्रदेशका सबै जिल्लामा दौड आयोजनाका लागि कार्यक्रमहरु तय गरिसकिएको जानकारी दिंदै पोखरा म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा छाप छोड्न सफल भएको बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले १६ औं सस्करणको पोखरा म्याराथनलाई सफल बनाउन धेरै संघ संस्थाहरुको सहयोग र समन्वयको खाँचो रहेको कुरा औंल्याउँदै समाजसेवी योगेशले स्थापन गरेको अक्षयकोषले यूवा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिना, सह कोषाध्यक्ष हरि बरुवालको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close