
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी स्वरुप मंगलवार कास्कीका खेलकुद संघहरुको भेला सम्पन्न भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारीका लागि राय तथा सुझाव संकलन गर्न पश्चिामाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले खेलकुद संघहरुको भेला आयोजना गरेको हो । खेलकुद संघहरुको भेलामा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरामा हुने नवौ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन ठूलो अभिभारा आएको बताउनुभयो । उहाँले भन्नुभयो–“नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यता संगै हर्षोल्लासमयका साथ सम्पन्न गर्न सवैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक छ ।”

अवको खेलकुद संघहरु झोले संघ मात्र नभई २०४० को दोश्रो राष्ट्रिय खेलकुदको इतिहास दोर्हाउने समय आएको बताउँदै राखेप सदस्य गुरुङले आफ्ना प्रशिक्षणका कार्यक्रमहरु कसरी अघि वढाउनुपर्ने हो त्यसवारे अहिले देखिनै सोच्न आग्रह गर्नुभयो । नवौं अगावै पोखरामा स्विमिङ, शुटिङ, गल्फ, हक्की र कव्ड्डीका पूर्वाधारहरु समेत निर्माण गर्नुपर्ने भएकोले त्यस बारे समेत राखेप संग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा वोल्दै पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले २०४० सालमा भएको दोश्रो राष्ट्रिय खेलकुद पछि गण्डकीले गौरव गर्ने गरि नवौंको तयारी संगै पदक प्राप्त गर्न सबै खेल संघहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले गण्डकीमा यति वेला जम्म नौ वटा खेल संघहरुका प्रशिक्षक मात्रै रहेकोले त्यसका लागि पूर्व तयारी कसरी गर्ने भन्ने बारे सोच्न खेल संघहरुलाई आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले नवौका लागि श्रोत र साधनका हिसावले सक्षम रहेको धारणा अघि सार्दै ३७ वर्ष पछि हुन लागेको प्रतियोगिता सफल बनाउन सवै खेल संघहरुको भूमिका रहको बताउनुभयो ।
भेलामा सवै खेलसंघहरुलाई ३ दिन भित्र राय तथा सुझाव पेश गर्न पश्च्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले निर्देशन समेत दिएको छ । समितीले प्राप्त राय तथा सुझावहरुको प्रतिवेदन तयार गरि यूवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगर पालिकालाई बुझाउने तयारी समेत गरेको छ । भेलामा कास्कीका ३५ भन्दा बढि खेलकुद संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
