
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा मंगलबार स्याङजा पुग्नु भएको छ ।
स्याङजा स्थित पुतलीबजार नगरपालिका र एन्फाको सहकार्यमा पुतलीबजार नगरपालिमा फुटबल विकास गर्ने उद्धेश्य सहित अध्यक्ष शेर्पा स्याङजा आएको बताउनुभएको हो । पुतलीवजारका प्रमुख सिमा कुमारी क्षेत्री र उपप्रमुख मोहन पुरी सङको सम्वाद पछि आफू निकै उत्साहित भएको अध्यक्ष शेर्पाले पोखरा स्पोर्टसलाई बताउनुभयो ।

अध्यक्ष शेर्पाले भन्नुभयो–“पुतलीबजार नगरपालिकाका प्रतिनिधीहरु सङ स्याङजाको फुटबल विकास सँगै पूर्वाधार निर्माण बारे महत्वपूर्ण छलफल भएको छ, उहाँहरु स्याङजाको फुटबल विकासका लागि निकै उत्साहित हुनुहुन्छ ।” उहाँले मालेवगरको फुटबल मैदानलाई एन्फा टेक्निकल मैदान बनाउन गत वर्ष एन्फाले १० लाख दिएको जानकारी गराउँदै नगरपालिकाले उक्त मैदानको डिपिआर समेत तयार गरि यूवा तथा खेलकुद मन्त्रालयमा पठाएको बताउनुभयो । उहाँले मालेबगरमा फुटबल स्टेडियम निर्माण हुने भए एन्फाले पूर्ण रुपमा टेक्निकल सहयोग गर्ने बताउनुभयो ।

स्याङजामा फुटबलको निकै सम्भावना रहेको बताउँदै एन्फाले मालेवगर र मातृभुमी खेल मैदानमा ग्रास रुट ट्रेनिङलाई नियमित सञ्चालन गर्ने समेत निर्णय भएको अध्यक्ष शेर्पाले बताउनुभयो । “मैले आज मातृभुमी खेल मैदानमा ग्रासरुटका खेलाडी र प्रशिक्षकहरु सँग अन्तक्रिया समेत गरेको छु, त्यसैले पनि ग्रासरुट ट्रेनिङलाई निरन्तरता गर्ने कुरामा एन्फा सकारात्मक छ”, उहाँले भन्नुभयो ।

यस सँगै स्याङजाको पुतलीवजारका १४ वडाहरुलाई समेट्दै स्थानियस्तरमा रेफ्री तथा फुटबल प्रशिक्षकहरु समेत उत्पादन गर्न एन्फले चाँडैनै कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको अध्यक्ष शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पा भोली (बुधवार) वालिङ स्थित खेलमैदानको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा एन्फाका सहायक महासचिब विश्व पौडेल, एन्फा केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठ, दिर्घ बहादुर केसी, विजय घले, एन्फा गोरखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एन्फा स्याङजाका अध्यक्ष मुक्त राना लगाएतको सहभागिता रहेको थियो ।
