
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन)ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङलाई बचाई राख्नुपर्नेमा जोड दिएका छन ।
प्याराग्लाइडिङ उडानको पहिलो अनुभव संगालेपछि सांसद बरालले पर्यटकहरुको समेत पहिलो रोजाई भएकोले सहासिक खेल प्याराग्लाईडिङ बचाउन नसके पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन । उनले भने–“प्याराग्लाईडिङ यस क्षेत्रको ब्राण्ड नै हो, यहाँको प्यारग्लाइडिङ विस्थापित भए पोखराको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने छ ।”

पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना चिन्तित भएको अबस्थामा सांसद बरालले गण्डकी प्रदेशको राजधानी पोखरा भएकोले गर्दा पोखरामा पनि यस प्याराग्लाईडिङ व्यवसायलाई दिगो रुपमा संचालन गर्न के गर्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्ने समेत बताए । पोखराको पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको प्याराग्लाईडिमा धेरै समस्या भएको र पोखरा क्षेत्रिय विमानस्थल संचालनमा आएसंगै आफुहरु विस्थापित हुनुपर्ने हल्लाले आफुहरु निकै चिन्तित भएको पाइलटहरुले साँसद बराल सँग गुनासो गरेका छन ।
आन्तरिक पर्यटकहरुलाई हाल बिशेष छुटमा प्याराग्लाईडिङ गराउन थालैसंगै प्याराग्लाईडिङ गर्नेको संख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिब बलराम आचार्यले जानकारी दिएका छन । उनले पोखराको स्थानिय बजारले ७५ प्रतिशत प्याराग्लाइडिङको बजार धान्नु आफैमा महत्वपूर्ण रहेको बताए । “यतिबेला कोरोनाको कहरका विचमा पोखरा आएका २५ प्रतिशत आन्तरिक पर्यटकले मात्रै प्याराग्लाइडिङ गरेका छन, ७५ प्रतिशत त स्थानिय बजारले धानेको छ ।” यतिवेला व्यवसाय धान्न धौ–धौ परेको बेला समेत प्याराग्लाइडिङमा स्थानियको चासो बढ्नु सुखद रहेको उनले बताए ।
पोखरा आसपासका आन्तरिक पर्यटकहरुलाई कम्तिमा एक पटक प्याराग्लाईडिङ गराएर आनन्द दिलाउन पनि आफुहरुले बिषेश छुटमा प्याराग्लाईडिङ गराउन कम्पनी तथा पाइलटहरुसंगको सहकार्यमा आव्हान गरिएको ना का अध्यक्ष कृष्ण भण्डारीले बताए । मौसम खुले सँगै हिमालको दृष्यावलोकन गर्दै पोखरामा प्याराग्लाइडिङ गर्नुको आनन्द छुट्टै हुने भएकोले पनि पोखरेलीहरुको घुइचो यतिबेला प्याराग्लाइडिङ तर्फ आर्कषण बढेको अध्यक्ष भण्डारीको भनाई छ ।
