
पोखरा स्पोर्टस । नेपाली मन जोड्न बेलायती महिला व्लान्च मोरीसीले यूकेमा सम्पन्न ‘मार्लो हाफ म्याराथन’ पुरा गरेकी छन ।
नेपालका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको सपोर्ट नेपाल संस्थाका लागि च्यारिटी मार्फत सहयोग संकलन गर्न मोरीसी २१ किलोमिटर दौडिएकी हुन । मोरीसीले हाफ म्याराथन मार्फत ३ हजार पाउण्ड सहयोग रकम संकलन गर्न सफल भएको सपोर्ट नेपालका संस्थापक अध्यक्ष नविन गुरुङले बताए । स्याङजा डाँडास्वारा घर भएका गुरुङले त्यहाँको शिक्षा, स्वास्थ्य, खेलकुद लगाएतको उन्नयन सँगै सामाजिक तथा सास्कृतिंक पक्षलाई जिवन्त बनाई राख्न सपोर्ट नेपाल मार्फत सहयोग गर्दै आइरहेका छन ।

युकेवाट कुरा गर्दै संस्थापक अध्यक्ष गुरुङले मोरीसीको हाफ म्याराथनका लागि युरोपका विभिन्न देशहरुवाट सहयोग प्राप्त भएको बताए । च्यारीटी दौडका लागि डालास टेक्सस राज्य अमेरीका, नेदरल्याण्ड, इटाली, स्पेन तथा वेलायतका विभिन्न संघ संस्था तथा व्यक्तीहरुले सहयोग गरेका थिए । यसका लागि नेपाली समुदाय सँगै सहारा युके र तमु धीं समाज युकेले समेत सहयोग गरेको उनले बताए । “संस्थाकी ट्रष्टी समेत रहेकी मोरीसीको दौडले हामीलाई निकै हौसला मिलेको छ,” उनले भने–“यो रकम नेपालीको मन जोड्न महिलाले गरेको हौसलापूर्ण दौड थियो ।”
बेलायतमा रहेर पनि आफ्नो जन्म थलोका लागि सामाजिक सेवा मार्फत गाउँको सेवा गर्न रुची राख्ने सहारा युकेका संस्थापक अध्यक्ष समेत रहेका गुरुङको पहलमा डाँडा स्वारामा ५० हजार पाउण्डको खर्चमा वेलफेयर सेन्टर निर्माण भइरहेको छ भने विद्यालय निर्माणमा ४० हजार पाउण्ड खर्च भइसकेको उनले बताए । उनले भने–“यतिवेला गाउँ छोडेर हिड्ने भए पछि विद्यालय समेत खाली भएको देख्दा दुःख लाग्छ”, गाउँलेहरुलाई आफ्नो जन्मोथलोमा नै राख्न सकियो भने त्यहाँको विकास सँगै उनीहरुमा खुसीको लहर दौडाउन सकिन्छ ।” विद्यालयमा अंग्रेजी माध्यमको पढाई सँगै शिक्षकहरुलाई समेत तालिम दिने योजना बनाएको उनले सुनाए । “सँगै युवावर्गलाई गाउँमा टिकाई राख्न वास्केटबल कोर्ट लगाएत अन्य खेलकुदका पूर्वाधार समेत निर्माण गर्ने योजना रहेको छ ।” यस संगै आवश्यक पाठ्यपुस्तक, पुस्तकालय तथा स्वास्थ्यका अन्य सेवा एवम ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमहरु समेत गरिने छन ।
गाउँमा पर्यटकहरु भित्राउन अर्गानिक खेती प्रणाली सँगै नेपाली खाना र संस्कृतीको जर्गेना समेत महत्पवूर्ण पाटो रहेकोले सर्पोट नेपाल मार्फत त्यस तर्फ समेत सहयोग गर्ने सोच रहेको संस्थापक अध्यक्ष गुरुङले जानकारी दिए । “हामीले बेलायत र नेपालीको लामो दौत्य सम्वन्धलाई गाउँको संस्कृती सँग जोड्न चाहन्छौ” उनले भने–“बेलायती समुदाय र नेपाली स्थानिय समुदाय विच सांस्कृतिक पक्षहरुलाई समेत जोडेर सामुदयिक पर्यटनलाई उकास्न प्रयास गदैछौं ।” उनले यो प्रयासले नेपालको पर्यटनलाई माथी उठाउन निकै सहयोग मिल्ने समेत बताए । यति मात्र नभई विभिन्न देशका स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई सिकाई आदान प्रदानका लागि नेपाल घुमाउने र यहाँको जनाजिवन बारे प्रचार गर्ने योजना समेत संस्थाको छ । अन्य वेलायती रोटरियन संस्थाहरुले समेत यस कार्यमा सहयोग गर्ने गुरुङले बताए ।
सपोर्ट नेपालमा गुरुङ संस्थापक अध्यक्ष रहे पनि अन्य सदस्य र ट्रष्टीहरु भने बेलायतीहरु रहेका छन । हाफ म्याराथन दौडेकी मोरीसी ट्रष्टीकी अध्यक्ष हुन । माइकल एडमसन्स, जिम कास्पर (महासचिव), मेरी होवेट र सारा हर्ड र क्रिश ह्विली सदस्य रहेका छन । त्यसै गरि सल्लाहकारमा हालै वेलायतमा एमवीई अवार्डवाट सम्मानित सहाराका पूर्व अध्यक्ष दिलिप गुरुङ, विनोद बराल, विष्णु खरेल, मञ्जु गुरुङ र जगन गुरुङ रहेका छन ।
