
पोखरा । ‘खेलकुद विकास विधेयक २०७७’ कार्यान्वयनमा आए संगै राष्ट्रिय खेलकुद परिषद (राखेप) को वोर्ड गठनको तयारी यति बेला शुरु भइसकेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्ष र सदस्य सचिबको नियुक्ती गरि सकेको छ भने ६ जना वोर्ड सदस्यको नामावली पनि वाहिर ल्याइसकेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले परिषदको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिबमा रमेश कुमार सिलवाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको दुई दिन पछि विहिबार ६ जना सदस्यको नामलाई आफ्नो तर्फबाट अन्तिम रुप दिए । ६ जनाको नाम सार्वजनिक हुने वित्तिकै अरु सदस्य को को बन्ने र कार्यकारी पदमा को को हुने भन्ने बारे खेलकुद वृतमा चासो बढ्दै गएको छ ।
राखेपका अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले ६ जनालाई मनोनयन गरे पनि राखेपको वोर्डको गठनका लागि ३७ जना रहने खेलकुद विधेयकमा प्रावधान रहेको छ । जसमा मन्त्री विश्वकर्माले ऐनको दफा २ को (ठ) अनुसार दुई जना, दफा २ को (ढ) अनुसार ३ जना र दफा २ को (त) अनुसार एक जना मनोनयन गरेका हुन । ऐनको दफा २ को (ठ) अनुसार मनोनयनमा परेका दुई जना खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपीङ विज्ञमध्येबाट हुन । जसमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन ।
त्यसै गरि ऐनको दफा २ को (ढ) अनुसार ३ जना मनोनयमा परेका मध्ये खेलकुद संघहरुबाट हुन । खेल संघबाट मनोनयनमा परेकाहरुमा सम्पन्न श्रेष्ठ, अर्जुन केसी र सुवाष श्रेष्ठ रहेका छन । यो दफा अनुसार मन्त्री विश्वकर्माले खेल संघबाट थप दुई जना महिलालाई मनोनयन गर्नेछन । परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व गर्दै गोविन्द भट्टराई सदस्यमा मनोनय भएका छन । उनी ऐनको दफा २ को (त) अनुसार मनोनयनमा परेका हुन ।
विधेयकको परिच्छेद २ को उपधारा ३ मा यसको परिषदको गठनको व्यख्या गरिएको छ । जसमा विभिन्न निकायबाट १३ जनालाई विधेयकमा उल्लेख विभिन्न संस्थाले मनोनयन गर्नेछन भने ऐनको दफा २ को (ट) बमोजिम अन्य ९ जनाको नामलाई मन्त्री परिषदको बैठकले अन्तिमरुप दिनेछ । ति ९ जना मध्ये कम्तिमा ३ जना हुनुपर्ने प्रावधान विधेयकमा छ भने मनोनयनका लागि कम्तिमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुर्व खेलाडी हुनुपर्नेछ भने खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी विहला, दलित, आदिवासी, खस आर्य, मधेसी, थारु, मुस्स्लिम, वा पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुनुपर्नेछ ।
सोही प्रावधान अनुसार वोर्डको अध्यक्ष युवा तथा खेलकुद मन्त्रालयको मन्त्री वा राज्य मन्त्री, मनोनित उपाध्यक्ष, मन्त्रालयको सचिब, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सचिव वा मन्त्रालयले तोकेको सोही मन्त्रालयको सहसचिव, नेपाली सेनाको खेलकुद क्षेत्र हेर्ने प्रमख, नेपाल प्रहरीको खेलकुद क्षेत्र हेर्ने प्रमख,, सशस्त्र प्रहरी बल, नेपालको खेलकुद हेर्ने प्रमख रहनेछन ।
खेलकुद विधेयकले दफा (ड)मा व्यख्या गरे अनुसार उद्योग वाणिज्य महासंघको सिफारिसमा एक जना, नेपाल ओलम्पिक, पारा ओलम्पिक लगायतका अन्तराष्ट्रिय ओलम्पिक कमिटिबाट मान्यताप्राप्त ओलम्पिक कमिटीमध्येबाट प्रतिनिधित्व हुने गरी सम्वन्धित कमिटीको सिफारिसमा अध्यक्षले मनोनयन गरेको दईजना, प्रत्येक प्रदेशको खेलकुद विकाससँग सम्वन्धित प्रदेशस्तरका संस्थागत संरचनाका कार्यकारी प्रमख ७ जना रहने छन ।
यसरी हुनेछ कार्यकारी वोर्डको गठन
‘खेलकुद विकास विधेयक २०७७’ ले राष्ट्रिय खेलकुद परिषदको कामको सहयोगका लागि ७ सदस्यिय कार्यकारी बोर्डको व्यख्या गरेको छ । ऐनको परिच्छेद ३ को उपदफा १ वमोविम समिती गठनहुनेछ जसको संयोजक परिषदका सदस्य सचिब हुनेछन भने सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा हेर्ने प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनीत गरेको कम्तीमा एकजना महिला सहित दईजना, परिषद्का सदस्यमध्येबाट परिषद्ले मनोनीत गरेका कम्तीमा एकजना महिला सहित दईजना र परिषद्को प्रशासन महाशाखा प्रमखु – सचिव रहनेछन । ऐनले विगतमा जस्तो सदस्य सचिबको सम्पुर्ण अधिकार यहि ऐनमा टेकेर खुम्चाएको छ । सदस्य सचिबले अव ७ जनाको निर्णय विना कुनै पनि निर्णयहरु गर्न सक्ने छैनन ।
अव लडाई कार्यकारी पदको
राष्ट्रिय खेलकुद परिषदले वोर्डको पुर्णता पाए लगतै कार्यकारी पद पाउन कसरत सुरु हुनेछ । परिषदको अध्यक्ष समेत रहेका मन्त्रीले यो पदमा आफ्नो तर्फबाट दुई जना सिफारिस गर्न पाउनेछन भने अन्य दुईजना भने बोर्डबाटै आउनुपर्नेछ । अरु दुई जना भने कर्मचारी हुनेछन । यो पदमा आउने चारजना भाग्यमानी को को बन्नेहुन भन्ने बारे पर्खनुपर्नेनै हुन्छ । कार्यकारी समितीको चयन भने निकै चुनौतीपुर्ण हुने खेलकुद विज्ञहरुको भनाई छ ।
राष्ट्रिय खेलकुद परिषदलाई पुर्णता दिन यतिबेला मन्त्रालयले सम्पुर्ण ध्यान केन्द्रित गरेको छ । केही नामहरु विभिन्न संघ संस्थाबाट आउनुपर्ने र केही नामहरु मन्त्री परिषदको वैठकबाट टुङ्गाउनुपर्ने भएकोले अझै एक साता वढी लाग्न सक्ने जनाइएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले यतिवेला निकै सुझवुझका साथ आफ्नो पाइला चाल्दैछन । निकै कम वोल्ने र काम वढी गर्न रुचाउने मन्त्रीको रुपमा रहेका उनले निर्णयमा चातुर्याई देखाउँदै परिषदको उपाध्यक्षमा कोइराला र सदस्य सचिबमा सिलवाललाई ल्याएर सपथ ग्रहण समेत गराइ सके । यो निर्णय संगै उनले खेलकुद र पार्टी भित्रको सन्तुलन मिलाउँदै थप उत्साहका साथ अघि वढेको खेलकुद विज्ञहरु बताउने गरेका छन ।
तस्विरः लोकेन्द्र बस्नेत
