महिला विश्वकप क्रिकेट होला त पोखरामा ? आईसीसी टोलीद्वारा निरिक्षण

पोखरा स्पोर्टस । यति बेला नेपाली क्रिकेट तातिएको अवस्थामा छ । भनिन्छ फलाम तातेको अवस्थामा नै ठटाउन सहज हुन्छ । चौतर्फी रुपमा क्रिकेटको माहोल भइरहेको बेला महिला विश्वकप क्रिकेटको केही खेल पोखरामा हुन सक्ने सम्भावनाले यति वेला विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टोली पोखरामा छ ।

नेपालमा सन् २०२७ मा हुने महिलाहरुको यु–१९ वर्ल्डकप क्रिकेट प्रतियागिताका केही खेलहरु पोखरामा समेत हुन सक्ने सम्भावनाको खोजि गर्न आईसीसीको एक टोली हाल पोखरा आएको हो । नेपाल बंगालादेशले संयूक्त रुपमा उक्त प्रतियोगिताको आयोजना गर्दैछन् ।

नेपालले महिला यू—१९ विश्व कप क्रिकेट आयोजना गर्ने भए पछि पोखरामा सम्भावना खोजी गर्दै आईसीसीको टोली पोखरा आएको प्रादेशिक क्रिकेट गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । केही थोरै प्राविधिक बिषयहरुलाई पोखरा रंगशालाको क्रिकेट मैदानमा जोड्न सके पोखराले विश्व क्रिकेटमा इतिहास रच्ने दावी उनको छ ।

यदि पोखराले सन २०२७ को एक खेल मात्रै आयोजना गर्न सक्यो भने पनि यसले खेलकुदको माध्यमबाट विश्वमा पोखरा खेलकुदमा सक्षम छ भन्ने सन्देश प्रवाह हुनेछ । जसका कारण पोखराको पर्यटनको विकास र खेल क्षेत्रले समेत एक फड्को मार्ने निश्चित प्राय छ । तर यसका लागि सरकारी निकायहरु कुनै कञ्जुस्याई नगरी संवेदनशिल भएर अगाडी बढ्नुपर्ने हुन्छ ।

विश्वकै उत्कृष्ट क्रिकेट मैदानको रुपमा परिचित पोखरा क्रिकेट खेल मैदानका विभिन्न निर्माण कार्यहरु अलपत्र हुनु र खेलाडीका लागि उपयूक्त डगआउट समेत नहुँदा खल्लो अनुभव हुन्छ । सरकारका योजनाहरु भने जस्तो गरी अघि नबढ्नु र खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुनुले खेलकुदका पूर्वाधार अलपत्र परेको आरोप खेलप्रेमीहरुले लगाउँदै आएका छन् । कागजका कोरिएका धेरै योजनाहरु सरकारी निकायको दराजमा थन्किंदा पोखरा क्रिकेट खेल मैदान लगायत धेरै योजनाहरु अलपत्र परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को बोर्डले सन २०२७ मा नेपाल र बंगलादेशमा उक्त विश्व कप क्रिकेट आयोजना गर्ने निर्णय गरिसकेको छ । आईसीसी प्रतिनिधिको टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार, एसिया डेभलप्मेन्ट म्यानेजर ईमान्यूल इस्लाम छन् ।

त्यसै गरी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष पदम खड्का लगायतको टोलीले पोखरा रंगशालाको क्रिकेट मैदानको बारेमा जानकारी लिएको थियो ।

निरिक्षणमा आएको अध्ययन टोलीले पोखरामा उक्त विश्वकप आयोजन गर्न उपयुक्त हुने वा नहुने सुझावहरु भने आईसीसीलाई नै बुझाउने छ ।

टोलीलाई मंगलबार पोखराका मेयर धनराज आचार्यले पोखरामा स्वागत गरेका थिए । विश्वकप पोखरामा आयोजना गर्न आफुहरु तयार रहेको आवश्यक कुनै थप भौतिक पूर्वाधार निर्माण गर्ने बिषयमा समेत महानगर सकरात्मक भएको उनको भनाई थियो ।

निरिक्षणमा रहेको टोलीले मंगलबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा संग भेट गरेका छन् । भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फ बाट सहयोग गर्ने जनाएको कास्की क्रिकेटका अध्यक्ष सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

टोलीले गण्डकी प्रदेश सरकारका मन्त्री सुरेन्द्रराज पाण्डेलाई काठमाण्डौमा नै भेट गर्ने भएको अध्यक्ष सिग्देलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close