
पोखरा स्पोर्टस । नेपाल आर्चरी संघको आयोजना, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन गण्डकीको तत्वाधान तथा प्रदेश खेलकुद परिषदको सहकार्यमा शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ओलम्पिक दिवश मनाएको छ ।

पोखरा रंगशाला आर्चरी खेल मैदानमा आयोजित कार्यक्रममा टोकियो ओलम्पिकको तयारीमा खेलाडीहरुको सहभागितामा मनाईको हो । कोभिड १९ को दोश्रो लहर पछि ठप्प प्राय रहेको खेलकुदमा करिव दुई महिना पछि सिमित व्यक्ती र खेलाडीको उपस्थितीमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवश २०२१ मनाईएको छ ।
सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले परिषद (राखेप)र नेपाल ओलम्पिक विचको नङ र मासुको सम्वन्ध जस्तै बलियो सम्वन्धको विकास हुनुपर्ने कुरामा जोड दिए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्न पोखरेलीले साथ दिएको कुराको स्मरण गर्दै उनले भने–“अब हामी सबै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने बेला आएको छ ।” खेलकुद बिकासमा एक ढिक्का भएर अघि बढेमा खेलाडीको मनोबल उच्च रहने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले आधुनिक खेलकुदको विकासका लागि आजको दिन महत्वपूर्ण रहेको स्मरण गर्दै विश्वमा शान्तीको स्थापनाका लागि ओलम्पिक अभियान अपरिहार्य रहेको बताए । कुनै पनि राष्ट्र र समाजको विकासको मापन समेत खेलकुदले दर्शाउने बताउँदै उनले भने–“ओलम्पिक अभियानलाई घर–घरमा पुर्याउन र सवैको चासोको विषय बनाउन सके मात्रै यसको सार्थकता अझै बढ्ने छ ।” नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष रहेका उनले सवैलाई खेलकुद विकासका लागि ओलम्पिक अभियानमा एक जुट भएर अगाडी बढ्न आग्रह समेत गरे ।
सो अवसरमा स्पोर्टस् फर अल कमिसन गण्डकीका संयोजक तथा अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले राष्ट्रको पहिचानका लागि ओलम्पिक अभियान अपरिहार्य रहेको बताए । खेलाडी, प्रशिक्षक, खेलप्रेमी लगायत सबै खेलकुदका सवै अङ्ग चलायमान हुँदै एकजुट भएर अगाडी बढेमा खेलकुदले गति लिने उनले विश्वास व्यक्त गरे ।
नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सचिव तथा प्रदेश खेलकुद परिषदका सदस्य गण्डकी योगेन्द्र शेरचन, जिल्ला आर्चरी संघ कास्कीका उपाध्यक्ष बसन्त गौचनले समेत ओलम्पिक अभियानका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा आर्चरी संघले प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।
सो अवसरमा १३ औं साग तथा आठौं राष्ट्रिय खेलकुदका पदकधारी खेलाडी, ओलम्पिकका लागि वाइल्डकार्डका लागि पोखरामा प्रशिक्षणरत खेलाडीहरुले पदर्शन खेल समेत देखाएका थिए । वाइल्डकार्डको पर्खाइमा रहेका तिलक पुन मगर र ज्ञानु अवाले, ११ औं सागका स्वर्ण पदक विजेता अशिम शेरचन, राष्ट्रिय खेलाडी द्वय सुमन गुरुङ र करुण बराल, आठौंकी स्वर्ण पदक विजेता अनुश्का शेरचन, १३ औं सागकी पदक विजेता रश्मी दर्लामी, आर्चरी प्रशिक्षक कृष्ण माया स्याङतान र राष्ट्रिय जज सञ्जिवमान तुलाधर रहेका थिए ।
