
पोखरा । नेपाल ह्याण्डबल संघको आयोजनामा तथा अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)को तत्वाधानमा एक साता लामो ‘बेसिक लेभल’ हयाण्डबल प्रशिक्षण सम्पन्न भएको छ ।
केभिड १९ का कारण भएको लकडाउनमा ह्याण्डबल प्रशिक्षक तथा खेलाडीलाई पुर्नताजगी प्रदान गर्न आयोजित प्रशिक्षणको समापन गर्दै नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले यो प्रशिक्षणले खेलाडी र प्रशिक्षकलाई उत्साह जगाएको बताए । उनले भने–“अहिले सबै खेलकुद गतिविधि ठप्प छन, यस्तो बेला आइएचएफले नेपाली खेलाडी तथा प्रशिक्षकलाई उत्साह जगाउन गरेको सहयोगका लागि आभार व्यक्त गर्दछु ।”
एक साता लामो प्रशिक्षणको समापनका अवसरमा सबै सहभागीहरुलाई आभार प्रकट गर्दै संघका सचिब केशव पाठकले पुर्नताजगी प्रशिक्षणले खेलाडीलाई निकै हौसला प्राप्त भएको बताए । उक्त प्रशिक्षण मित्र राष्ट्र भारतका वरिष्ठ ह्याण्डबल प्रशिक्षक हरिन्दर पाल सिंह ‘चिना’ले एक दिएका थिए ।
समापनका अवरमा खेल शिक्षक शंकर शाहले यो प्रशिक्षणले आफुहरुलाई निकै सहयोगी भएको बताए । उनले भने–“अहिले विद्यालय बन्द रहेपनि एक खेल शिक्षकले ह्याण्डबलको प्रशिक्षण प्रविधीको प्रयोग गरि लिन पाउनु सुखद रह्यो ।” प्रशिक्षणमा ह्याण्डबलका अग्रज खेलाडी तथा प्रशिक्षक रामेश्वर श्रेष्ठ र राजकुमार हमाल सहित विभिन्न जिल्लाका राष्ट्रिय खेलाडीहरु, ह्याण्डबल प्रशिक्षक तथा विद्यालयका खेल शिक्षकहरुको सहभागिता रहेको थियो ।
