
पोखरा स्पोर्टस । विश्वकै उच्च स्थानमा पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ ।
भारत लेह–लदाख सक्ति स्थित १४ हजार ४ सय फिटको उचाईमा उक्त प्रतियोगिता सुरु भएको हो । ‘लदाख ऐरो फेष्ट’ नामाकरण गरिएको उक्त प्रतियोगितामा नेपाली ४ खेलाडीहरुको सहभागिता रहेको निर्णायकको रुपमा लदाख पुगेका बिमल अधिकारीले जनाएका छन् ।
१९ औं एसियाली खेलकुदमा रजत पदक बिजेता नेपाली टिमको टिम प्रशिक्षक रहेका अधिकारी र खेलाडीको रुपमा रजत पदक बिजेता रहेका विजय गौतम निर्णायकको रुपमा भारतको लदाख पुगेका छन् ।
‘द वर्ल्ड हाइएष्ट प्याराग्लाइडिङ एक्यूरेसी कम्पिटिशन’ अन्तर्गत सम्पन्न हुने खुला प्रतियोगितामा नेपाली दुई महिला खेलाडी रिता श्रेष्ठ र विद्या राई छन् भने पुरुषतर्फ विष्णु प्रसाद गौतम र सुमन जङ्ग थापा छन् ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वभरीका २ सय भन्दा बढि खेलाडीहरु लदाख पुगेको अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिता भाद्र १२ गते सम्म सञ्चालन हुनेछ ।
नेपालमा भने नवौं राष्ट्रिय खेलकुदमा भएको दुर्घटना संगै व्यवसायिक उडान बाहेक सबै प्रकार प्रतियोगिताहरुमा नगरिक उड्ययन प्राधिकरणले पूर्ण बन्देज लगाएको छ । कुनै बेला नेपाली खेलकुदमा एसियन खेलमा एक मात्र पदक जित्ने खेल प्याराग्लाइडिङ खेल बन्देज हुँदा नेपाली अर्थतन्त्रले करौडौको राजश्व समेत गुमाएको छ ।
बन्देजकै कारण नेपाली खेलाडीहरु विदेश पलायन समेत भएका छन् भने हरेक वर्ष हुँदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत हुन सकेका छैनन् ।

