‘हामीले छानविन पुरा गर्‍यौं, कारवाही गर्ने प्रयाप्त आधार छन’– उपाध्यक्ष खड्का

२–२ वर्ष वार्षिक अडिट नहुँदापनि कास्की एन्फालाई रकम सहयोग गर्नु एन्फा केन्द्र दोषी छ– सदस्य पराजुली

पोखरा । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको एन्फा कास्कीमा भएको अनियमितता बारे छानविन गरिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष एवम छानविन समितीका संयोजक विर बहादुर खड्काले  कारवाहीका प्रयाप्त आधार रहेको बताएका छन ।

छानविन सकिए लगतै पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष खड्काले यस्तो बताएका हुन । केही कर्मकाण्डी जस्तो देखिएको पत्रकार सम्मेलनमा उनले अध्यक्ष गुरुङ विरुद्ध अनियमितता प्रयाप्त आधारहरु रहेकोले नै आफुलाई छानविनको जिम्मेवारी सुम्पिएको बताउँदै भने–“यदि सवै राम्रो हुन्थ्यो भने म यहाँ छानविन गर्न आउन पर्ने नै थिएन, न त छानविनका लागि समिती नै गठन गर्नु पथ्र्यो ।” “यहाँ घोटाला भएका प्रशस्त प्रमाणहरु छन, जसलाई हामीले प्रतिवेदनमा लिपीवद्ध गरेका छौं, कारवाही गर्ने अधिकार केन्द्रीय समितीमा निहित छ, हामी कोही व्यक्ति विशेषलाई बचाउन पोखरा आएका होइनौ” उनले भने ।

कास्की एन्फामा भएको अनियमितता बारे यसो भन्छन संयोजक विर बहादुर खडका

एन्फाले ६ वटा विषयमा छानविनका लागि पठाएको प्रष्ट पार्दै उपाध्यक्ष खडकाले जुन जुन विषयमा उजुरी परेको छ त्यसमा गहिरो गरि छानविन गरिएको बताउँदै भने–“त्यसमा कुनै प्रलोभनमा नपरी इमान्दारिता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका छौं ।” अहिले नै प्रतिवेदन सार्वजनिक अधिकार आफुहरु संग नरहेको बताउँदै उनले कास्की आफु उपाध्यक्षको नाताले एन्फा कास्कीलाई १५ दिन भित्र साधारण सभा गर्न र अडिट समेत सम्पन्न गर्न निर्देशन दिएको बताए ।

पोखरा जस्तो फुटबलको कर्मभुमीमा यस्ता विरोधाभाष कुराहरु आउन नहुने तर्क अधि सार्दै उपाध्यक्ष खडकाले एन्फा कास्कीका सबै कार्यसमितीका पदाधिकारी र सदस्यहरुलाई समेत एक–एक गरि सबै प्रतियोगिताका विल भर्पाइ र खर्चका बारेमा सोधेको र सबै कुराहरुलाई प्रतिवेदनमा जस्ताको तस्तै टिपोट गरेको स्पष्ट पारे । पोखरा पर्यटन संगै फुटबलको निकै सम्भावना रहेकोले आगामी दिनमा यस्ता कुरा दोहरिन नदिन सबै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।

कास्कीमा गत वर्ष सम्पन्न रेफ्री प्रशिक्षणमा समेत भएको अनियमितता बारे छानविन टोली संग सबैले जिज्ञासा राखेकोले केन्द्रबाट खटिएका रेफ्रिका संयोजक किरण गिरी संग पनि यसबारे सोधपुछ गरिने बताए । “रेफ्रि प्रशिक्षणका लागि किन व्यक्तिगत खातामा रकम पठाइयो र त्यो अहिले सम्म किन फर फारक भएन ?” भन्ने प्रश्न गर्दै उनले भने–“रकम व्यक्तिको खातामा आउने अनि हिसाव भने नदेखाउने त्यो हुन सक्दैन ।”

छानविन समितीका सदस्य विष्णु पराजुलीले समेत एन्फा कास्कीमा धेरैनै कमि कमजोरी रहेको औल्याए । दुई दुई वर्ष सम्म साधारण सभा नहुनु, संस्था नविकरण समेत नगरिनु, कुनै पनि विल भर्र्पाइहरु नियमसंगत रुपमा नराख्नु र त्यस बारे एन्फा केन्द्र बेखवर बन्नुले अनियमितता हुनु स्वाभाविक रहेको छानविन टोलीमा अडिटरको भुमिकामा रहेकाउनले जनाए । उनले कुनै पनि संस्था नविकरण र साधारण सभा नभईकन कसरी अगाडी बढ्न सक्छ भन्ने प्रश्न गर्दै एन्फा कास्कीमा धेरै गलत कुराहरु हावी रहेको बताए । उनले भने–“२–२ वर्ष सम्म वार्षिक अडिट र साधारण सभा नहुँदा पनि एन्फा कास्कीलाई नविकरण भएको जस्तो गरि केन्द्रबाट रकम सहयोग भइरहनुले पनि एन्फा केन्द्र दोषी छ ।”

छैटौ मनकामना कपमा २९ लाख घाटा
छानविन टोलीले प्रष्ट रुपमा सबै कुरा बाहिर नल्याए पनि २०७५ फागुनमा सञ्चालन भएको छैटौ मनकामना गोल्ड कपमा २९ लाख १७ हजार २९० रुपैयाँ घाटा भएकोे जनाएको छ । प्रतियोगितामा ९२ लाख ९८ हजार १६४ रुपैया खर्च भएको जनाएको छानविन टोलीले ६३ लाख ८० हजार ८७४ रुपैयाँ आम्दानी भएको जनाएको छ । मनकामना कपको मात्रै ३७ लाई रकम तिर्न बाँकी रहेको छानविन टोलीका संयोजक खडकाले जनाएका छन ।

यसै गरि जिल्ला लिगमा समेत एन्फा कास्कीले केही आम्दनी गरेको देखिएपनि त्यसको रकमहरु वैकमा मौज्दात नदेखिएको जनाएको छ । उपाध्यक्ष खडकाले सबै हिसाव कितावहरु यथासिघ्र फर फारक गर्न निर्देशन समेत दिएको बताए । उनले एक छुट्टै प्रशङ्गमा देशभर बाढीपहिरोले पुर्याएको जन धनको क्षतीप्रती दुःख व्यक्त गरे ।

यहि असार १७ गतेबाट छानविन थालेको टोलीले ११ दिन लगाएर छानविन सकेको हो । टोलीमा एन्फा उपाध्यक्ष खडका सहित एन्फा कास्कीका पुर्व अध्यक्ष आनन्द रञ्जित र विष्णु पराजुली रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close