
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रले कास्की एन्फामा भएको अनियामितता छानविन गर्न बनाएको टोलिले आफ्नो काम सम्पन्न भएको जनाएको छ ।
एन्फाको छानविन टोलिले यहि असार १७ गतेबाट थालेको छानविन एघार दिन पछि टुङ्गाएको हो । टोलिले छानविन सकिए लगतै सोमवार पोखरामा वसेर छानविन गरेका विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
कास्की एन्फा गठन भएको २५ वर्षको इतिहासमा पहिलो पटक अनियमितता बारे छानविन भएको हो । छानविन टोलीले आफ्नो काम सकिए लगतै पत्रकार सम्मेलन आयोजना गरे पनि सबै कुरा नखोल्ने जनाई सकेको छ । अर्थात सोमवार पोखरामा हुने पत्रकार सम्मेलन कर्मकाण्डी मात्रै हुनेछ ।
एन्फा कास्कीको २५ वर्षको इतिहासमा को कसले गरे नेतृत्व ?
कास्की एन्फामा हाल सम्म ७ जनाले नेतृत्व गरेका छन । त्यस मध्ये महेश गुरुङ कास्की एन्फाको संस्थापक हुन । २५ वर्षको लामो इतिहासमा कास्की एन्फा आर्थिक अनियमितताको छानविनमा परेको हो ।१. महेश गुरूङ २०५२–२०५८
२.आनन्द रञ्जित (गणेश थापा) र मोतिमान शाक्य २०५८–२०६२ (गिता राणा र कर्मा छिरिङ शेर्पा)
३. खेम गुरूङ २०६२–२०७०
४. गोपि भट्टराई २०७०–२०७१
५.धर्म लामिछाने २०७१–२०७३
६. मिलन गुरूङ २०७४ मा निर्वाचित
छानविन टोलीका संयोजक तथा एन्फा उपाध्यक्ष विर बहादुर खडकाले छानविनको प्रतिवेदन केन्द्रमा वुझाउने र केन्द्रलेनै प्रतिवेदनमा उल्लेख भए अनुसार आगामी कदम चाल्ने जनाएका छन । उनले पटक पटक सञ्चार माध्यमलाई यस अघि पनि आफ्नो अधिकार क्षेत्र भन्दा वाहिर गएर केही नवोल्ने र आफु कोही कसैलाई दोषी देखाउन वा कार्वाही गर्न पोखरा नआएको बताउँदै आएका छन ।
पोखरा आउनु अघि संयोजक खडकाले काठमाडौमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरुको समेत आफुले अध्ययन गरेको र हरेक कोणबाट कास्की एन्फाको अनियमितताबारे छानविन गरेकोले शंका नर्गन पटक पटक आग्रह गरेका थिए ।
एन्फाको छानविन टोलीले विशेष गरि छैटौ मनकामना कप, जिल्ला लिग २०७५, अन्तर विद्यालय स्तरिय जिल्ला लिग, अन्तर विद्यालय स्तरिय प्रदेश लिग, अन्तर विद्यालय फुटबल प्रतियोगिता महिला तथा पुरुषको गरि ६ वटा विषयमा विशेष चासो राखेको थियो । छानविन टोलीलाई ति ६ वटा विषय पनि केन्द्रलेनै तोकेको थियो ।
एन्फा कास्कीका सल्लाहाकार एवम पुर्व अध्यक्ष समेत रहेका आनन्द रञ्जित र एक जना अडिटर विष्णु प्रसाद पराजुली सहित तिन जनाले छानविन गरेपनि प्रतिवेदन पोखरामा सार्वजनिक हुने छैन । एन्फा केन्द्र अर्थात विशेष गरि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको हातमा यो प्रतिवेदन पुग्नेछ । अव कास्की एन्फा सङ्गै पोखराको फुटबल विरासत बचाउने काम अध्यक्ष शेर्पाबाट हुने वा होइन त्यो भने आगामी दिनले देखाउने छ ।
