
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) आयोजना गर्न त्यहाँको सरकारले अनुमति प्रदान गरेको छ ।
ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल कायम रहेकै वेला प्रतियोगिताका लागि अनुमति पाएपछि सिपिएल हुने पक्का भएको हो । अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक बिना रंगशालामा खेलाइनेछ ।
सिपिएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकोमा यसपटक तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ । सिपिएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ ।
आयोजक सिपिएल र त्यहाँको सरकारबीच प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भए अनुसार खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा समेत राखिने छ ।
उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।
सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।
