
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।

पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।
एनआरएनएको तर्फबाट एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।
सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि.चन्द्र गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताए । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उनको भनाई थियो ।
मञ्चका निबर्तमान अध्यक्ष तेज बहादुर गुरुङले सन् २०१० मा एनआरएनएले सुस्ताएको म्याराथन जोगाउन अक्टोबर ११ आफ्नो स्थापना दिवसमा दुई वर्षका लागी मुख्य प्रायोजन गरेको बताए । उनले १४ वर्ष अघीको कुरा स्मरण गर्दै भने–“तत्कालीन एनआरएनए अध्यक्ष देबमान हीराचन र एनआरएनए यूकेका अध्यक्ष सूर्य गुरुङ दुई जना पोखरेली भएकोले पनी मुख्य प्रायोजकको रूपमा एनआरएनए अघि सर्यो । त्यति बेला पनी त्यो रक़म ७ लाख ५० हजार नै थियो ।”
एकपटक एनआरएनए पनः पोखरा म्याराथन संग जोड़िएकोमा खूसी व्यक्त गर्दै भनें–“म अध्यक्ष डा.बद्री केसीलगाएत एनआरएनए परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । एआरएनएको यो सहकार्यले नेपाली खेलकुदको विकास संगै भावी सन्ततीहरुलाई खेलकुदको माध्यमबाट मुलथलो मातृभूमीमा आउन भूमिका खेल्नेछ ।”
कसरी भयो तीन बर्षे सम्झौता
१४ वर्ष पछि इतिहास दोर्हाउँदै एनआरएनए पुनः पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा जोडिने सन्दर्भका बारेमा आफ्ना भनाई राख्दै ले.रि गुरुङले यसको श्रेय एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एआरएनए आइसीसीका सल्लाहकार सूर्य गुरुङलाई दिन्छन् ।
सूर्य गुरुङ कुनै बेला पोखरा रंगशालाको पर्खाल निर्माणका यूके संयोजक समेत् थिए । उनकै पहलमा एआरएनए आइसीसीका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष एवं स्पोर्टस टास्क फोर्सका अध्यक्ष रोशन कार्की, महासचिव गौरी जोशी र सदस्य ले.रि चन्द्र गुरुङ बीच भएको लामो छलफल पछि एआरएनए आइसीसी पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग जोडिएको हो । “यो निकै लामो र गहन छलफल थियो” उनले भने–“यसले समग्रमा विश्वभरी छरिएर रहेका नेपाली र उनका परिवारहरुलाई वर्षको एक पटक पोखरा म्याराथनमा सहभागिता जनाउने मात्रै नभई प्रतिस्पर्धीको रुपमा सहभागिता जनाउन नयाँ मार्ग प्रशस्त गरेको छ ।”
पोखरा म्याराथनमा नेपाली मध्येका बिजेतालाई समेत् अन्तर्राष्ट्रिय म्याराथनहरुमा सहभागिता गराउने गरी सम्झौता भएकोले पनि नेपाली धावकहरुलाई यसले नयाँ सन्देश दिने बताउँदै विश्वभर छरिएर रहेका नेपालीहरुलाई वर्षको एक पटक पोखरा म्याराथनमा सहभागिता गराउने गरी एनआरएनएले प्रचार प्रसार गर्ने बताए ।
उक्त कार्यक्रममा एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष हितमान गुरुङ, एनआएन युकेका पुर्व अध्यक्ष मुक्षेत्र गुरुङ, ले.रि.कुशाङ गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहारा युके पुर्व अध्यक्ष कुमार गुरुङ र सल्लाहकार योगेश गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष खेम गुरुङ लगायतको सहभागिता रहेको थियो ।
गण्डकीतर्फको म्याराथनको प्रथम पुरस्कार रानाभाट परिवारले सौजन्य गर्ने
म्याराथनमा गण्डकी प्रदेशतर्फ प्रथम हुने खेलाडीका लागि मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटको परिवारले प्रायोजन गर्ने भएको छ । मंगलबार नै उनले आफ्नी श्रीमती मणिपाल शिक्षण कलेजकी प्रमुख सकुसिंह रानाभाटको तर्फबाट प्रायोजन गर्ने भएका हुन् ।

