
पोखरा । पोखरा महानगरले खेलाडीलाई पुरस्कार र सम्मान संगै एक वडा एक खेल मैदानलाई निरन्तरता दिने भएको छ ।
पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले सातौ नगर सभामा आर्थिक वर्ष २०७७/०७८ का लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन । उनले भनेका छन–“एक वडा एक खेल मैदानलाई निरन्तरता दिइनुका साथै महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने छ ।”
खेलकुदको विकास गर्न विद्यमान खेलकुद कानुनलाई समय सापेक्ष बनाइने बताउँदै प्रमुख जिशीले महानगरीय खेलकुद समिती गठन गर्ने निती तथा कार्यक्रममा उल्लेख गरेका छन । उनले पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने समेत जनाएका छन ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिने संगै स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई अभियानको रुपमै टोल टोलमा सञ्चालन गरिने प्रमुख जिशीले निती तथा कार्यक्रममा जनाएका छन ।
