गण्डकी प्रदेश सरकारले ठेलो र तारो खेलका लागि छुट्टायो ४० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन गरेको बजेटमा परम्परागत खेललाई विशेष स्थान दिंदै बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ द्वारा हालै प्रस्तुत गरिएको बजेट अन्तरगत विनियोजित विभिन्न खेलकुद परियोजना अन्तरगत पहिलो पटक परम्परागत खेल ठेलो र तारो खेललाई बजेट विनियोजन गरेको हो । सामाजिक विकास मन्त्रालय अन्तरगत ठेलो खेलको नियम निर्माण र प्रतियोगिता सञ्चालनका लागि २० लाख र तारो खेल आयोजनालाई समेत २० लाख गरि ४० लाख छुट्टाएको छ ।

ठेलो खेल गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा परम्परागत रुपमा खेलिदैं आइन्छ भने तारो खेल थकाली समुदायमा प्रचलित परम्परागत खेल हो ।

प्रदेश सरकारले ठेलो र तारो खेलको विकासका लागि पहिलो पटक थोरै रकमबाट सुरुवात गर्न बजेट विनियोजन गरेको मन्त्री गुुरुङले बताएका छन । “अहिले बजेट विकास केन्द्रित छ”, उनले भने–“थोरै रकमबाट भएपनि हाम्रो प्रदेशका यि परम्परागत खेललाई स्थायी रुपमा सुरुवात गर्न चाहन्छौ ।”

पराम्परागत रुपमा खेलिने खेलहरु भएपनि यसका नियमहरु निर्माण गरेर आधुनिक ढङ्गबाट व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउन सकिने बताउँदै मन्त्री गुरुङले भने–“परम्परागत भनेर ठ्याक्कै त्यहीरुपमा नभई यि खेलका नियमलाई केही आधुनिक ढङ्गबाट अघि बढाउने हो भने अन्तर्राष्ट्रिय खेल जगतले पनि मान्यता दिन सक्छ ।”  ओलम्पिकमा खेलिने खेलहरु पनि कुनै न कुनै देश र ठाउँमा खेलिने परम्परागत खेलका आधुनिक रुपान्तरण खेलहरु नै रहेका उनले बताए ।

परम्परागत खेललाई पहिलो पटक रकम विनियोजन गरेर सुरुवात गरेपछि भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले स्वागत गरेका छन । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले परम्परागत खेललाई स्थान समेत प्रदेश सरकारले बजेट विनियोजन गर्नु सुखद रहेको बताए । उनले भने–“खेलकुदको विकासका लागि परम्परागत खेलको विकास पनि संग–संगै अघि बढ्छ र यसले प्रदेशको पहिचानमा समेत सहयोग पुर्याउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close