
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार सम्पन्न आकस्मिक बैठकले जिल्ला फुटबल संघ भक्तपुरलाई विघटन गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै भक्तपुर फुटबल संघ विघटन गर्ने निर्णय गर्दै किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिती गठन गरेको जनाएको हो । यसका साथै एन्फाले टासी घलेलाई पुनः मानार्थ अध्यक्षमा बाँकी कार्यकालका लागि मनोनयन गरेको छ ।

यसै गरि बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्षको विषयमा छानविन गर्न एन्फा केन्द्रिय उपाध्यक्ष वीर बहादुर खडकालाई संयोजकमा मनोनयन गरेको छ । यस अघि गठित छनविन समितीका संयोजक एन्फा सदस्य रत्न कुमार श्रेष्ठले स्वास्थ्यका कारण राजिनामा दिएपछि मंगलबार राति सम्पन्न एन्फा बैठकले उपाध्यक्ष खडकालाई जिम्मेवारी सुम्पिएको हो ।
एन्फा कास्कीको निष्पक्ष छानविनका लागि गरिएको निर्णयका लागि एन्फा कास्कीका पुर्व सचिब सुदर्शन रञ्जितले स्वागत गरेका छन । उनले भने–“यो विषय धेरै लामो पनि भयो, छानविन समिती टुङ्गोमा पुगे राम्रो हुन्छ, छानविन समितीले गरेको निर्णय जे जस्तो आए पनि हामी स्वागत गर्छौ” उनले थपे–“फिफाको यति ठुलो परियोजना कास्कीमा आउँदै छ, त्यसलाई सफलता पुर्वक सम्पन्न गर्न पनि कास्की फुटबल संघमा उठेका विषय समाधान सङ्गै सहज वातावरणका साथ एकजुट भएर सबै अघि बढ्नुपर्छ ।”

यसै गरि एन्फा केन्द्रले बैठकमा भएको निर्णय सार्वजनिक गर्दै भक्तपुर जिल्ला फुटबल संघलाई समेत विघटन गरि यसै गरि २०२० अक्टोबर ८ मा नेपालमा संचालन हुन गइरहेको विश्वकप फुटबल प्रतियोगिता २०२२ को दोश्रो चरणको खेलमा सहभागी हुन आगामी जुलाई महिना देखि प्रशिक्षण तयारी थाल्ने निर्णय गरेको छ । प्रशिक्षणका लागि युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा सम्वन्धित निकायमा स्विकृती लिने निर्णय गरेको छ ।
एन्फाले राष्ट्रिय टोलीका महिला तथा पुरुष खेलाडी गरि ३५÷३५ जनाको गरि ७० जनाको कोभिड १९ विमा समेत गर्ने निर्णय गरेको छ भने एन्फाले फिफाबाट स्विकृत प्राप्त १ लाख डलर बरावरको राहत समेत वितरण गर्ने निर्णय गरेको छ ।

