
पोखरा । आगामी फागुन २० देखि २७ गते सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भए पछि विभिन्न गण्डकी प्रदेशका विभिन्न जिल्लामा खेलकुद पुर्वाधारका काम धमाधम शुरु हुन थालेका छन ।
यसै क्रममा म्याग्दी बेनी नगरपालिका वडा नं १ स्थित रत्नेचौर वहुउद्धेश्य खेल मैदान प्यारपिट निर्माण र बेनी वडा नं ७ स्थित बेनी रंगशालाको पर्खाल निर्माणको काम शुरु गरिएको हो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेशका सबै जिल्लामा कम्तिमा पनि एक खेल आयोजना गर्ने जनाइए संगै पुर्वाधार मर्मत र निर्माणले गति लिन थालेको हो ।
चालु अर्थिक वर्ष अन्तरगत राष्ट्रिय खेलकुद परिषद बाट प्राप्त ५० लाखबाट मैदानको प्यारापिट निर्माण गर्न थालिएको म्याग्दी जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख दानबहादुर राईले बताए ।
रत्नेचौर खेल मैदानमा निर्माण गर्न लागिएको प्यारापिट ६५ मिटर लम्वाई र ४ मिटर चौडाइको हुने कार्यालय प्रमुख राईले बताए । करिव १ हजार दर्शक क्षमताको उक्त प्यारापिट निर्माण गर्न उपभोक्ता समिती गठन गरेर काम अघि बढाइएको छ ।
यसै गरि बेनी वडा नं ७ स्थित बेनी रंगशाला निर्माणका लागि परिषद बाट प्राप्त ४० लाख खर्च गरिने कार्यालय प्रमुख राइले बताए । “अहिले दुवै मैदानको निर्माण कार्य उपभोक्ता समिती मार्फत भइरहेको छ, टेण्डर समेत गरि काम शुरु गरिएको छ” उनले भने–“असार मसान्त सम्म काम सक्नुपर्नेछ, हामीले उपभोक्ता समितीलाई यस बारे भनिसकेका छौं ।”
राष्ट्रिय खेलकुद परिषदले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती मार्फत विभिन्न जिल्लामा खेलकुद पुर्वाधार निर्माण गर्न चालु आवमा ६ करोड ८० लाख निकासा दिएको कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिए । “कोरोनाका कारण भएको लकडाउनले काममा केही ढिलो भएपनि यति बेला सबै जिल्लामा कामले गति लिएको छ” उनले भने । उनले केही जिल्लामा उपलव्ध गराइएको रकम बाट काम सम्पन्न भइसकेको र केही जिल्लामा कामहरु अन्तिम चरणमा पुगेको बताए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा खेलकुद पुर्वाधार मर्मत र निर्माण अन्तरगत मनाङको तिमाङ र कास्कीको घान्दु्रकमा दुई उच्च खेल मैदान निर्माण गर्न ५०–५० लाख रकम सम्वन्धित जिल्लामा पठाइएको छ । स्याङ्जाको गेजावारी झाकीथान छाप खेलमैदान निर्माणका लागि २० लाख, स्याङजा कै खेलपुर्वाधार निर्माणका लागि ४० लाख, गोरखा रंगशाला स्त्तरोन्नतीका लागि ४० लाख, मनाङ जिल्ला कभर्ड हल निर्माणका लागि ४० लाख यो चालुु आवमा खर्च हुनेछ ।
यसै गरि मुस्ताङमा कभर्डहल निर्माण, कास्की पोखरा १९ को बहुउद्धेश्यिय कभर्ड हल निर्माण, बागलुङको बाङेचौर खेल मैदान लगाएतका जिल्लामा निर्माणकाकाम हरु अन्तिम चरणमा पुगेका छन ।
