
पोखरा स्पोर्टस । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले आज ५-अन्डर ६७ को स्कोर गरे । राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।
समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। उनले आज ८-अन्डर ६४ को स्कोर गरे । प्रो तर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनलेआज ५-अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योर तर्फ दोस्रो भए ।
साबिक विजेता सुबाश तामाङ समग्रमा १५-अन्डर २ सय ७३ सहित चौथो भए । उनले आज इभन-पार ७२ स्कोर गरे। प्रोतर्फउनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २सय ७४ सहित पाँचौं स्थानमा रहे । उनले आज ६-अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।
धरानका प्रो निरज तामाङले आज १-ओभर ७३ स्कोर गरे।समग्रमा १०-अन्डर २ सय ७८ सहित छैटौं भए । प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।
दिनेश प्रजापति समग्रमा ९-अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २-अन्डर ७० स्कोर गरे। प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे । शुक्र बहादुर राई समग्रमा ८-अन्डर २ सय ८० सहित आठौं भए । आज ५-अन्डर ६७ स्कोर गरे।प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे।
समग्रमा ३-अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे । सञ्जयले इभन-पार ७२ र वाङ्चेनले २-अन्डर ७० माआजको खेल सकाए । प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे ।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । ११औं र १२औं होलमा पनि एक-एक सट बचाउँदा २३-अन्डरमा स्कोर पुर्याइसकेका थिए । तर ४-पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए ।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए । यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक-एक सट बचाए । १४ औं होलको बोगीलेब्याक नाइन ३-अन्डर३३ मा पुरा गरे ।
सदभावले फ्रन्ट नाइनमा इभन-पार ३६ खेले । तेस्रो होलमा डबल बोगी खेपे । छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए ।
बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन(एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हाल सम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए ।
अब शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ ३० प्रोफेसनलर १२० जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
